विराटनगर । माओवादी केन्द्रले झापाको कचनकबलदेखि कञ्चनपुरसम्म पार्टी सुदृढिकरण अभियान सञ्चालनको तयारी गरेको छ ।
मतदाता र पार्टी कार्यकर्तासँगको सम्बन्ध पुनःस्थार्पित गर्न माओवादीले यो अभियानको थालनी फागुन १२ गते झापाको कचनकबल गाउँपालिकाको बनियानीबाट गर्ने जनाएको छ ।
पार्टी केन्द्रीय उपमहासचिव एवं कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ सुरू गरेको सोमबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
‘पूर्वको भूमि माओवादीका लागि उर्बर हो, यहाँबाट अभियान सुरू गर्न लागेका छौं’ उनले भने, ‘बनियानीमा अभियान उद्घाटन हुनेछ, उद्घाटन कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी सहभागी हुनेछन् ।’
अभियान अन्तर्गत विभिन्न स्थानमा अन्तरक्रिया र सभा आयोजना गरिने नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।
उक्त अभियानअन्तर्गत कोशी प्रदेशमा मात्रै अन्य पार्टीमा रहेका कम्तीमा पाँच हजार व्यक्तिलाई माओवादीमा प्रवेश गराउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
‘अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट गर्नु मुख्य उद्देश्य रहेको छ’ नेम्वाङले भने, ‘मल, बीउ, प्रविधि, सिंचाई, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण पनि गरिनेछ ।’
View : 415
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved