Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङको स्ववियु निर्वाचनमा ५ हजार ९८३ विद्यार्थी मतदाता

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । चैत ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी .युनियनको निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगरले अन्तिम मतदाता नामावली आइतबार प्रकाशन गरेको छ ।

फागुन २५ गतेसम्म भर्ना भएका पाँच हजार ९८३ को नाम प्रकाशन गरेको जनाइएको छ । जसमा छात्र तीन हजार ९३ र छात्रा दुई हजार ८९० छन् ।

गत बुधबार (फागुन २१) पहिलो चरणमा प्रकाशित मतदाता भन्दा अहिले ४३३ जना बढी छन् । पहिलो चरणमा प्रकाशित मतदाताहरुको संख्या पाँच हजार ५५० थियो । 

त्रिवि स्ववियू निर्वाचन सम्वन्धी निर्देशिका २०८१ को नियम ५ बमोजिम भन्ने उल्लेख गरी फागुन ११ गते महेन्द्र मोरङ क्याम्पसले १४ सदस्यीय ‘स्ववियु निर्वाचन समिति २०८१’ गठन गरेको थियो ।

सो निर्देशिकामा ‘विद्यार्थी संख्याको आधारमा ५००१ देखिमाथि १३ सदस्यीय निर्वाचन  समिति गठन गर्न सकिने छ । क्याम्पसले आवश्यक ठानेमा समितिको सदस्य संङ्ख्या कम गर्न सक्नेछ’ उल्लेख छ ।

तर प्राध्यापकहरुको दलगत संगठनहरुको दवावको कारण सबैको भागवण्डा मिलाउने क्रममा १३ सदस्यीय समिति गठन हुन पुगेको एक प्राध्यापकले प्रतिक्रिया दिए ।

डा सुशील अधिकारीको संयोजकत्वमा गठित समितिमा प्राध्यापकबाट १२ जना र कर्मचारी एक जना मात्र छन् । 

उता स्ववियु निर्वाचनलाई व्यवस्थित बनाउन सहायक क्याम्पस प्रमुख डा डिल्ली  पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा प्राडा नागेन्द्रप्रसाद साह, डा सत्यनारायण साह, बद्री बानिया, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला र जयनारायण यादव छन् ।

View : 130

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved