विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्स उत्कृष्ट लयमा देखिएको छ । पहिलो संस्करणको असफलता बिर्साउने गरी विराटनगर किंग्स एनपीएलमा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ ।
यही क्रममा शनिबार काठमाडौं गोर्खाजविरुद्ध ५ विकेटको सहज जीत हात पारेर विराटनगरले जीतको लयलाई निरन्तरता दिएको छ ।
आफ्नो दोस्रो खेलमा विराटनगरले १ सय ३५ रनको लक्ष्य त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १७.१ ओभरमै पुरा गरेको थियो ।
सुदूरपश्चिम रोयल्सपछि पहिलो दुवै खेल जित्ने विराटनगर अर्को टोली भएको छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाउँदै पोखरा एभेन्जर्ससँगको खेल ५३ रनले जितेको थियो ।
एनपीएलको पहिलो संस्करणमा ७ मध्ये जम्मा दुई खेल मात्रै जितेको विराटनगरले यसपटक भने सुरुआतका दुवै खेल जितेर आशा जगाएको छ ।
शनिबारको खेलपछि कप्तान सन्दिप लामिछानेले विराटनगर किंग्स आफ्नो यही लयलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।
‘जितले अवश्य पनि खुसी दिन्छ,’ उनले पोस्ट म्याच कन्फरेन्समा भने ‘यही खुसी र लयलाई कायम राख्ने पक्षमा टिम हुनेछ ।’
विराटनगरले लगातार दोस्रो खेल जित्दा काठमाडाैं भने अर्को हार खेप्न बाध्य भएको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरे यता काठमाडांै लगातार दोस्रो खेलमा पराजित भइसकेको छ ।
टोली अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
शनिबारको खेलमा विराटनगरका विदेशी खेलाडीद्वय जर्ज मन्सी र मार्टिन गप्टिलको आक्रामक ब्याटिङमा विराटनगरले विजयको आधार तयार पारेको थियो ।
लोकेश बम २ छक्का प्रहार गर्दै १० बलमा १४ रन बनाई आउट भएपछि मन्सी र गप्टिलले दोस्रो विकेटमा २४ बलमा ५३ रन जोडेका थिए ।
मन्सीले १६ बल खेली ५ चौका र २ छक्कासहित ३६ तथा गप्टिलले १९ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाएका थिए ।
बसिर अहमद १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १९ रनमा आउट भए ।
नरेन भट्ट ३० बल खेल्दै २ चौका प्रहार गरेर २४ रनमा आउट भएका थिए । शुभम रन्जने ८ बलमा ६ र कप्तान सन्दीप लामिछाने ३ बलमा ९ रन बनाई अविजित रहे ।
गोर्खाजका साहब आलमले ४ ओभरमा १९ रन खर्चेर २ तथा कप्तान करण केसी, सन्तोष यादव र जेर्हरार्ड इरसमसले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमाडांैले कमजोर ब्याटिङ गर्दै निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो ।
आदिल आलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसको कारण काठमाडौंले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्न लायक स्कोर बनाउन सकेको थियो ।
पावर प्लेको पहिलो ६ ओभरमा काठमाडांैले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल कुल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो ।
आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भएका थिए । रिकार्डो भास्कोनसेलोस ३ रनमा रनआउट भए । प्रतियोगितामा पहिलो पटक मौका पाएका प्रतीक श्रेष्ठले पनि २ रनमात्र बनाउन सके । इरसमस १० रनमै आउट भए ।
ओपनर बेन चाल्र्सवर्थले ३३ बल खेली १ चौका र २ छक्कासहित ३२ रन बनाएका थिए । उनलाई १३ औं ओभरमा रन्जनेले आउट गरे ।
त्यसपछि आदिल र सन्तोषले छैटौं विकेटमा ३० बलमा ४५ रनको साझेदारी गरे ।
सन्तोषले २४ बल खेली १ चौकासहित २६ रन बनाए । जोहन सिम्पसन ५ बल खेली ७ रन बनाई अविजित रहेका थिए ।
विराटनगरका लागि मर्चेन्ट डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । कप्तान सन्दीप, रन्जने र सूर्य तामाङले समान १–१ विकेट लिएका थिए ।
एनपीएलमा आइतबार कुनै खेल छैन । सोमबार पहिलो खेलमा पौने १२ बजे विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससंग प्रतिस्पर्धा गर्नेछ ।
जनकपुर टिममा विराटनगरका क्रिकेटर ललित राजवंशी छन् । सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
View : 169
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved