विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिकहिंसा रोकथाम र न्यूनीकरणका लागि घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) सँगको साझेदारीमा एबीसी नेपालद्वारा सञ्चालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्दै कार्कीले लैंगिक विभेदमा आधारित हिंसा रोक्न घरपरिवार बढी जिम्मेवार हुनु आवश्यक रहेको बताइन् । त्यस्तै कार्कीले लैंगिकहिंसा रोकथाम र नियन्त्रणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
‘लैंगिक हिंसाबाट महिलामात्रै पीडित छैनन्, पुरुष पनि पीडित छन्,’ उनले भनिन्, ‘जुनसुकै किसिमबाट हुने हिंसा रोकथामका लागि महानगर सहयोग गर्न तयार छ ।’
यूएनएफपीएको साझेदारीमा सञ्चालित परियोजनाको समय अब ९ महिनामात्रै बाँकी छ ।
परियोजनाको समय सकिएपछि कसरी अगाडि बढ्ने भन्ने चिन्ता नलिन कार्कीले आग्रह गरिन् ।
‘ढुक्क भएर तपाईंहरू काम गर्नुहोेस् । आर्थिक अभावले परियोजना रोकिनु भएन,’उनले भनिन् ।
पछिल्लो तीन महिनाको अवधिमा परियोजना अन्तर्गत १ सय ३ जनाले सेवा लिएको एबीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिइन् ।
उनका अनुसार परियोजना सञ्चालित विराटनगरसहित ओखलढुंगा र उदयपुरबाट १ सय ३ जनाले सेवा लिएका हुन् ।
विराटनगर महानगरसहित ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा परियोजना सञ्चालनमा रहेको उनले जानकारी दिइन् ।
जसअन्तर्गत ३ महिनामा ओखलढुंगामा २४, कटारीमा १६ र विराटनगरमा ६३ जनाले सेवा लिएका छन् ।
सेफ हाउसमा संरक्षणका साथै कानुनी र मनोपरामर्श, स्वास्थ्यउपचार, आवश्यक कानुनी सहयोगलगायतको सेवा प्रदान गरिएको शर्माले जानकारी दिइन् ।
बलात्कार, घरेलु हिंसा, बहुविवाह लगायतबाट पीडित भएका व्यक्तिहरूले सेवा लिएका छन् । धेरैजसो घरेलु हिंसाबाट पीडित भएका व्यक्ति सेवा लिन आउने गरेको उनले बताइन् ।
View : 306
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved