Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सकियो पहिलो नेपाल ग्रासरुट क्रिकेट महोत्सव

उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित मेलिलेबोन ज्वाला क्रिकेट मैदानमा आयोजित पहिलो नेपाल ग्रासरुट क्रिकेट महोत्सव–२०८२ सकिएको छ । 

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरीलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विदआउट बाउण्ड्रिजको सहकार्य तथा मोरङ जिल्ला क्रिकेट संघ र कोशी प्रदेश क्रिकेट संघको सहयोग तथा प्रवद्र्धनमा आयोजित प्रतियोगितामा १३ वटा खेल सम्पन्न भएका हुन् ।

प्रतियोगितामा कोशी प्रदेशका विराटनगर र पथरी, सुनसरीको तरहरा, उदयपुर र मधेश प्रदेशको सिरहा र राजविराजबाट ६ वटा हब क्रिकेट टिमबीच आठ ओभरको सट बलमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा ८२ जना बालिकाहरू सहभागी भएका थिए ।

प्रतियोगितामा हरेक हब टिमलाई एकअर्कासँग खेल्ने अवसर प्रदान गरिएको नेपाल क्रिकेट फाउण्डेशनका संस्थापक अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

उनले कोशी र मधेश प्रदेशका विभिन्न हबबाट सहभागी खेलाडीलाई सहभागी गराई नेपालको ग्रासरुट महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सिर्जना गर्न महत्वपूर्ण अवसर बनेको बताए ।

बालिकाहरूलाई खेल उत्सवका रुपमा सहभागी गराइएका कारण प्रतियोगितामा हब टिमबीच जित हारको घोषणा भने नगरिएको जनाइएको छ । 

खेलका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई भने कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान क्रिकेट विकास समिति सदस्य एल्वीन बस्नेत, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मदसाद कुरेशी, क्यान महिला क्रिकेट विकास समिति सदस्य जिना श्रेष्ठ, क्रिकेट विदाउट बाउण्ड्रिजकी सारा बेग लगायतले प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

View : 497

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved