Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ड्युटीमै ढलेका एसपी घिमिरेको मरणोपरान्त एक तह बढुवा

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

घिमिरेको अन्त्येष्टिमा महानिरीक्षक राजु अर्याललगायत सलामी दिदै । तस्वीर : कमल/उद्घोष

विराटनगर । नेपाल भारत सीमा सुरक्षा बैठकमा बेहोस भएर तङ्ग्रिए पनि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) ४६ वर्षीय राजेश घिमिरेको शुक्रबार चेकजाँचकै क्रममा अस्पतालमा निधन भएको छ । होसमा आएर आफै अस्पतालमा जाँच गराउन गएका उनको शुक्रबार राति विराट मेडिकल कलेजमा निधन भएको हो । 

सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका उपरीक्षक राजेश घिमिरेको शनिबार पोष्टमार्टमपछि विराटनगरको परोपकार घाटमा सरकारी सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

उनको अन्त्येष्टिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, वन तथा पर्यटन मन्त्री भिम पराजुली, सशस्त्र प्रहरी महानिरीक्ष्ँक राजु अर्याल, पूर्व मन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, विराटनगरका मेयर नागेश कोइरालालगायतले श्रद्धाञ्जली अर्पण गरे ।

महानिरीक्षक अर्याललगायत डिआईजीहरू मनिष थापा, कुमार न्यौपानेलगायतले घिमिरेको पार्थीव शरिरमा सशस्त्र प्रहरीको झण्डा ओढाएर सलामी दिएका थिए ।

मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा शुक्रबार आयोजित सीमा सुरक्षा बैठकका क्रममा एसपी घिमिरेलाई हृदयघात भएको थियो । तत्कालको प्राथमिक उपचारपछि उनी उठेका थिए । 

कार्यक्रममा रहेका एक अधिकृतका अनुसार लड्दा घिमिरेको जिब्रो दाँतले काटेको थियो । उनी कार्यालयमा आएर सशस्त्रको पोशाक परिवर्तन गरी स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए ।

उनीसँगै गएका एक अधिकृतले भने, ‘पार्किङ स्थलबाट हिंडेरै अस्पताल प्रवेश गर्नुभयो, जाँच गर्ने क्रममा मोवाइल चलाएर बस्नुभयो, ‘मलाई केही पनि भएको छैन’ भन्दै हुनुहुन्थ्यो ।’ 

अस्पतालमा परीक्षण भइरहेका बेला उनलाई स्वास लिन असहज भयो । चिकित्सकले तत्काल भेन्टिलेटरमा राखे पनि केही बेरमा उनको निधन भएको थियो ।

सीमा सुरक्षा बैठकमा सहभागी हुन भारतबाट चार प्रान्त र नेपालका चार प्रदेशका डिआईजीहरू आएका थिए । घिमिरेको अवस्था बुझेर भारतीय अधिकारीहरू पनि राति अस्पताल पुगेका थिए । 

२०६० साउनमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका उनी एक वर्षको मोरङको कार्यकाल पूरा गरी सरुवा भएको ठाउँ शनिबार हेटौंडा जाने तयारीमा थिए ।

विराटनगर–३ का स्थायी बासिन्दा उनी तीन वर्षदेखि नयाँ घर लिएर बुढीगंगा–१ मा बस्दै आएका थिए । 

१४ वर्षीय एक छोरा र ८ वर्षकी छोरीका पिता घिमिरेका घरमा श्रीमती र आमाबाबु छन् । ड्युटीका क्रममा निधन भएका घिमिरेको एक तह बढुवा हुने भएको छ । उनी मरणोपरान्त प्रथम श्रेणीका अधिकृत हुने छन् ।

सशस्त्र प्रहरी नियमावलीअनुसार अपरेशन, सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद् आदिमा मृत्यु भएमा सरकारबाट अतिरिक्त १० लाख रुपैयाँ क्षतिपूर्ति दिने ब्यवस्था छ । 

सेवा अवधि २० वर्ष भन्दा बढी भएकाले उनको परिवारले २ वर्ष बराबरको एकमुष्ट तलब, श्रीमतीले मासिक तलबको ५० प्रतिशत जीवनभर पाउने ब्यवस्था छ । त्यसबाहेक छोराछोरीलाई छात्रवृत्ति, शैक्षिक भत्ता दिने ब्यवस्था छ ।

View : 411

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved