विराटनगर । विराटनगर–१० स्थित संसारी माइस्थान संरक्षण समितिले सर्वोच्च अदालतबाट मुद्दा मन्दिरको नामको जग्गा आफ्नो स्वामित्वमा ल्याएपछि सप्ताह ज्ञान महापुराणको तयारी अघि बढाएको छ । कात्तिक २३ बाट सुरु हुने पुराणको कथाबाचन भागवत मञ्जरी राधिका दासीले गर्ने जनाइएको छ ।
संसारी माइस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले सोमबार पत्रकार सम्मेलन गर्दै महापुराणको तयारीबारे जानकारी गराएका हुन् ।
संसारी माइस्थान मन्दिर र भानु मोरङ सांस्कृतिक समितिबीच जग्गाको स्वामित्व विवाद हुँदा मोरङ जिल्ला अदालतबाट सर्वोच्चसम्म मुद्दा पुगेको थियो ।
संसारी माइस्थान संरक्षण समितिले नै संरक्षण गर्दै आएको १३ कठ्ठा १५ धुर जग्गामा संसारी माइस्थान संरक्षण समितिकै हक पुग्ने भन्दै सर्वोच्च अदालतले २०८१ भदौ २४ मा अन्तिम फैसला गरेको थियो ।
जग्गा संसारी माइस्थानकै भएको ठहर भएपछि संरक्षण समितिले महापुराण आयोजना गर्दै जग्गा र मन्दिर संरक्षणको थप काम अघि बढाउन लागेको जनाइएको छ । पुराणका लागि करीव २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संरक्षण समितिका राजेश मास्केले बताए ।
पुराण सम्पन्न गर्न संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले दुई लाख रुपैयाँ चन्दा दिने घोषणा गरेको उनले जानकारी दिए । पुराणमा विराटनगरका सम्पूर्ण नगरवासी भक्तजनसमक्ष सहयोग गर्न समितिले आग्रह गरेको छ ।
संसारी माइस्थानको नामको जग्गा पाटन ललितपुरको तापाहिटी निवासी विहारीलाल श्रेष्ठ आफ्नो जागिरको सिलसिलामा विसं १९७० मा आफ्नै पहलमा उक्त जग्गा उपलब्ध गराइदिएको जनाइएको छ ।
त्यहाँ २०२४ सालमा तिलविक्रम मास्केको परिवारबाट राधाकृष्ण भगवानको मन्दिर स्थापना गरिएको थियो ।
मन्दिर सञ्चालनका लागि मास्केले मोरङको हरैंचामा १ विघा १५ कठ्ठा ५ धुर जग्गासमेत प्रदान गरेका थिए । मोहीका कारण उक्त जग्गा मध्येहाल १९ कठ्ठा मात्रको मन्दिरको नाममा रहेको जनाइएको छ ।
View : 88
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved