Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका तीन जिल्लामा बढी सुरक्षा चुनौती, तीन दिन सीमा नाका बन्द

उद्‌घोष संवाददाता
१९ फागुन २०८२, मङ्गलवार

विराटनगर । निर्वाचन नजिकिंदै जाँदा कोशी प्रदेशमा सुरक्षा संवेदनशीलता सामान्यदेखि अति संवेदनशील तहसम्म मूल्याकंन गरिएको छ । निर्वाचनमा घुसपैठ नहोस् भनेर सोमबार रातिबाट नेपाल भारत सीमा बन्द गरिएको छ ।

स्थानीय राजनीतिक प्रतिस्पर्धा तीव्र हुनु, साना–ठूला दलबीच ध्रुवीकरण बढ्नु र सामाजिक सञ्जालमार्फत अफवाह फैलिने जोखिमका कारण सुरक्षा निकाय सतर्क अवस्थामा छन् ।

मतपेटीका लुट्न आए गोली चलाउनुपर्ने अवस्था आउन सक्ने मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले आइतबार एक सार्वजनिक कार्यक्रममा बताएका थिए ।

उनको भनाईले निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई सुरक्षा निकायले गोलीसम्म हान्न सक्ने अवस्था रहेको सन्देश दिन्छ ।

हाल अधिकांश जिल्लामा अवस्था सामान्य भए पनि प्रतिस्पर्धा कडा रहेका क्षेत्रहरूलाई जोखिम सूचीकृत गरिएको छ ।

ती क्षेत्रमा अफवाह र सामाजिक सञ्जाल निगरानी गर्दै भ्रामक सूचना र उत्तेजक सामग्री नियन्त्रणलाई प्राथमिकता दिइएको सुरक्षा निकायले जनाएका छन् ।

‘भारतका प्रधानमन्त्रीको आवाजमा एआई प्रयोग गरी मत मागिरहेका एक जनालाई सोमबार सुनसरीबाट पक्राउ गरिएको छ’ कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले भने ।

भारतसँग खुला सीमा भएका जिल्ला झापा, मोरङ, सुनसरी र इलाममा आवत–जावत र अवैध चलखेलमाथि भारतीय समकक्षी सुरक्षाकर्मीको सहयोगमा विशेष निगरानी गरिएको छ ।

भारतीय समकक्षीबाट पूरा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउँदै घिमिरेले आवश्यक परे थप कडाइमा सहयोग माग्ने बताए ।

तराई–मधेसका क्षेत्र विराटनगर, इटहरी, दमक आसपासमा चर्चित नेताहरू बीच कडा प्रतिस्पर्धा रहेको र सो क्षेत्रमा ठूलो जनसंख्या रहेकाले यी ठाउँमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनका अनुसार कोशी प्रदेशमा निर्वाचन प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानकर्मी सहित करिव ३० हजार जना परिचालन गरिएको छ ।

यी क्षेत्रमा नगद, मदिरा, उपहार वितरण जस्ता अवैध गतिविधि रोकथाम चुनौती रहेको सुरक्षा अधिकारीले बताएका छन् । मौन अवधिमा अझ चुनौती हुने घिमिरेको भनाइ छ ।

निर्वाचनलाई अवरोध पु¥याउन सक्ने मानिसको पहिचान गरी पक्राउ गरेर नियन्त्रणमा राख्ने गरिएको उनले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेराको सुरक्षा मोडेल तयार गरेर सुरक्षा मजबुत बनाइएको छ ।

प्रहरीका अनुसार, मतदान केन्द्रभित्र नेपाल प्रहरी, केन्द्र बाहिरको घेरामा सशस्त्र प्रहरी बल र आवश्यकता अनुसार नेपाली सेना स्ट्यान्डबाइ राखिएको छ । निर्वाचन प्रहरी पनि परिचालन गरिएका छन् ।

अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रहरू छुट्याएर सादा पोशाकसहित सुरक्षाकर्मी फरक–फरक तरिकाले परिचालन गरिएको बताइएको छ ।

झडप वा आपत्कालिन अवस्थामा तत्काल परिचालन गर्न ‘क्विक रेस्पोन्स  टिम’ तयार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शहरी क्षेत्रमा सीसीटीभी र ड्रोन क्यामेराबाट निगरानी गरिएको छ ।

कोशी प्रदेशको समग्र  सुरक्षा अवस्था अवस्था नियन्त्रणमै देखिए पनि तराई–सीमावर्ती क्षेत्र र कडा प्रतिस्पर्धा भएका शहरी केन्द्रमा उच्च सतर्कता अपनाइएको प्रहरीको भनाइ छ । झापामा ९५, मोरङमा ४७ र सुनसरीमा ५७ मतदान केन्द्र अतिसंवेदनशील छन् ।

सशस्त्र प्रहरीका अनुसार कोशी प्रदेशका १४ जिल्लामा ४ सय ३० केन्द्रलाई अति संवेदनशिलमा राखिएको छ ।

यस्तै ८ सय २९ केन्द्र संवेदनशील र ६ सय ४८ मतदान केन्द्र सामान्यमा वर्गीकरण गरेर सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved