Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले संगठन विभागले घनश्याम खतिवडा गरायो सचेत

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको अधिवेशनताका ६ जना पार्टी सदस्यको सदस्यता नवीकरण नभएको विषयमा एमाले केन्द्रीय संगठन विभागले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई सचेत गराएको छ । 

संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले अध्यक्ष खतिवडालाई बैशाख २ गते पत्रमार्फत लिखित रुपमा सचेत गराएको खुलेको छ । यो घटनाले जिल्ला अधिवेशनताका खतिवडाले पक्षधरता देखाएको संकेत मिलेको हो ।

२०८० चैत २६ गते भएको एमाले जिल्ला कमिटी ओखलढुंगाको अधिवेशनका बेला केही व्यक्ति र समूहलाई मात्रै फाइदा हुनेगरी प्रदेश अध्यक्ष खतिवडाले जिल्ला कमिटी सदस्य, गाउँपालिका कमिटी अध्यक्षसहित ६ जनाको सदस्यता नवीकरण नगरेको खुलेको हो । 

माओवादीबाट एमालेमा समाहित भएका नेता खड्ग कार्कीसहित ६ जनाको सदस्यता नवीकरण छुटेपछि  तत्कालीन जिल्ला कमिटीको आग्रहमा संगठन विभागले गत कात्तिकमै उनीहरूको पार्टी सदस्यता नवीकरण गरेको थियो । 

तर जिल्ला अधिवेशनमा उनीहरूलाई सहभागी हुन नदिने नियतले प्रदेश अध्यक्ष खतिवडा, जिल्ला इन्चार्ज खगेन्द्र राईसहित सहभागी अध्यक्ष मण्डलले केन्द्रीय संगठन विभागको पत्रलाई कार्यान्वयन नगरेको पाइएको हो ।

संगठन विभागले जिल्ला अधिवेशनकै समयमा उनीहरूको सदस्यता नवीकरण गरेर पठाएको भए पनि प्रदेश कमिटीले उक्त पक्र अस्वीकार गर्दै सदस्यताबाट वञ्चित गरेको जनाइएको छ । 

अधिवेशनकै त्रममा अध्यक्ष खतिवडाले भेदभावपूर्ण व्यवहार गरेको भन्दै संगठन विभागमा गुनासो पुगेको भए पनि गुनासो सुनुवाइ हुन सकेको थिएन । खतिवडालाई पठाइएको पत्रमा आउने दिनमा यस्तो कमी नगर्न समेत सचेत गराएको उल्लेख छ । 

एमाले ओखलढुंगाको अधिवेशनका क्रममा संगठन विभागको निर्देशन समेत पालना नभएको भन्दै तत्कालीन अध्यक्ष शंकर कटुवालले पार्टी नै परित्याग गरेको घोषणा गरेका थिए । उनी अहिले पनि निष्क्रिय बसेको जनाइएको छ ।

View : 52

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved