Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

मोरङ ३ : वामपन्थी गढ भत्काएका शर्मालाई तीन दलको चुनौती

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । निर्वाचन क्षेत्र पुनर्संरचना हुनु अघिसम्म अहिलेको मोरङ ३ मा पर्ने भूगोलमा नेकपा एमाले सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित थियो । क्षेत्र परिवर्तन हुने क्रममा २०७४ यता यो क्षेत्र मोरङ ३ का रूपमा रह्यो । 

नयाँ संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा पनि यो क्षेत्रले वामपन्थी विरासत जोगाउँदै एमालेका भानुभक्त ढकाललाई प्रतिनिधिसभामा निर्वाचित गर्यो ।

२०७९ मा भने यो बलियो वामपन्थी किल्लामा डा. सुनिल शर्माले पहिलोपटक नेपाली कांग्रेसको जीतको झण्डा फहराएका थिए ।

यद्यपि डा. शर्माले एमालेका उनै ढकाललाई पराजित गर्ने क्रममा दुई वामपन्थी दलहरू माओवादी र एकीकृत समाजवादीको साथ पाएका थिए ।

२०७४ मा ढकालले पनि वाम गठबन्धनको सहायतामा जितेको क्षेत्रमा शर्माले २०७९ मा पनि गठबन्धनकै बलमा चुनाव जितेका थिए ।

फागुन २१ को निर्वाचनको दृश्य भने यी दुई निर्वाचनको भन्दा बिल्कुल फरक छ । सबै दलहरू यो चुनावमा एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा छन् ।

यसबाहेक त्यसबेला जस्तो सीमित दलहरू मात्रै मैदानमा छैनन् । नयाँ, पुराना दलहरू र स्वतन्त्र गरी १८ जना उम्मेदवारहरू यसपटक प्रतिष्पर्धामा छन् । 

साविक विजेता कांग्रेसले डा. शर्मालाई नै उम्मेदवार बनाउँदा एमालेले इरान राईलाई अघि सारेको छ ।

अघिल्लो पटकका प्रतिष्पर्धी भानुभक्त ढकाल मोरङ–३ छाडेर तेह्रथुमतिर लागेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले डा. देउमान सम्बाहाम्फेलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश कार्कीलाई मैदानमा उतारेको छ ।
निकट विगतमा भएको २०७९ को निर्वाचनमा विजेता बन्ने क्रममा कांग्रेसका शर्माले ४८ हजार ६३१ मत पाएका थिए ।

एमालेका ढकाल २५ हजार ८९५ मत पाएर दोस्रो बन्दा राप्रपाकी रेखा थापा १० हजार ९९८ मतसहित तेस्रो र रास्वपाका विकास उप्रेती ३ हजार १७२ मतसहित चौथो बनेका थिए ।

यसपटक डा. शर्मालाई एमाले, नेकपा र रास्वपाका उम्मेदवारहरूले चुनावी चुनौती दिइरहेका छन् ।

२०७४ मा पराजित बनेका कांंग्रेसका शर्माप्रति २०७९ मा सहानुभूतिको ठूलो मत खनिएको थियो ।

खासगरी विराटनगरस्थित नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफ्नो क्षेत्रका बासिन्दाका लागि स्वास्थ्योपचारमा उल्लेख्य छुट मात्रै दिएका थिएनन्, अस्पतालले दिने सुविधा पनि थपेका थिए ।

यसपटक त निर्वाचन जिते क्षेत्रवासीका लागि अस्पतालमै डिलक्स रूम बनाइदिने घोषणा गरेर उनले मतदाता आकर्षित गरिरहेका छन् ।

एमालेका इरान राई र नेकपाका डा. सम्बाहाम्फे दुवै जना शैक्षिक क्षेत्रका अगुवाका रूपमा चिनिएका उम्मेदवारहरू हुन् ।

रास्वपाका गणेश कार्की स्थानीयबासी भए पनि काठमाडौं बस्दै आएका उम्मेदवार हुन् । यसरी शर्माले अन्य तीन मुख्य दलहरूको चुनौती यसपटक सामना गर्नुपर्ने छ ।

त्यसो त मोरङ ३ मा यसपटक अन्य दलहरूले पनि उल्लेख्य संख्यामा उम्मेदवारी दिएका छन् ।

अन्य उम्मेदवारहरूमा भुवनकुमार वाग्ले राष्ट्रिय ऊर्जाशील पार्टी, परशुराम विश्वास थारू नेपाल मजदुर किसान पार्टी, डिल्लीबहादुर जबेगू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खड्गबहादुर कार्की नेकपा माओवादी, प्रेमप्रसाद सुवेदी राप्रपा, विकेन्द्र राई मंगोल नेशनल अर्गनाइजेसन, विदुर अधिकारी संयुक्त नागरिक पार्टी, अमिर मगर श्रम संस्कृति पार्टी, मजेवुल रहमान जसपा नेपाल, कमलकुमार राई आम जनता पार्टी, नवराज मास्के जय मातृभूमि पार्टी,  मित्रसेन योञ्जन  उज्यालो नेपाल पार्टी छन् । 

त्यस्तै गणेश मिश्रा र तेजप्रसाद भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् ।

मोरङ ३ मा पथरी–शनिश्चरे नगरपालिकाको  १, २, ३ ४ र ७, ८, ९, र १० नम्बर वडा,  कानेपोखरी गाउँपालिकाको ४, ५, ६, ७, बेलबारी नगरपालिकाको १, २, ३ र ४ अनि  ८, ९, १०, ११, र सुन्दरहरंैचा नगरपालिकाको वडा १ र ८, ९, १०, ११ र १२ नम्बर वडा पर्दछन् । यसपटक यो क्षेत्रमा १ लाख ५८ हजार ५७ जना मतदाता छन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रमा एमाले नै बलियो देखिएको थियो । 

त्यसबेला एमालेले २७ हजार २७८ मत पाएर क्षेत्रमा पहिलो हुँदा कांग्रेसले २५ हजार ३८४ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा चौथो धेरै मत पाएको रास्वपाले समानुपातिकमा भने उल्लेख्य मत पाएको क्षेत्र हो यो । 

त्यो चुनावमा समानुपातिकमा रास्वपाले १७ हजार ७६१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ८ हजार ८२२ र राप्रपाले ६ हजार ५१५ मत प्राप्त गरेका थिए ।

मोरङ ३ को यसपटकको चुनावी प्रतिष्पर्धामा उम्मेदवारको काम र व्यक्तित्वको पाटोले मतदातालाई बढी आकर्षित गर्ला कि राजनीतिक दलहरूको नाम र प्रभावले ? विकास निर्माणसहितका अन्य मुद्दाहरूले मतदाताको मत तान्ने पो हो कि ? 

नयाँ संविधान जारी भएयता हुन लागेको तेस्रो निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिएका दल र तिनका उम्मेदवारहरूको चुनावी भविष्य सम्भवतः यिनै प्रश्नहरूमा आधारित हुनेछ । 

यसका लागि फागुन २१ सम्मको चुनावी मिति कुर्नुपर्ने छ । यद्यपि एक से एक दल र उम्मेदवारहरूको दौडधुप, मतदाता आकर्षित गर्न उनीहरूले अपनाउने रणनीति लगायतका विषयले मोरङ ३ को चुनावी होड रोचक बनाइदिने पक्का छ ।

View : 571

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved