Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वमन्त्री अधिकारी पक्राउ प्रकरणमा मुख्यमन्त्री कार्कीले बोली फेरेको फेर्यै

मुख्यमन्त्री कार्कीले आफूले मन्त्री अधिकारीलाई जापान नजान भनेको मात्रै दाबी गरेका छैनन्, गलत तत्वले प्रयोग गर्न सक्छन् भनेर पहिल्यै सजग गराएको दाबीसमेत अघि सारेका छन् ।
उद्घोष सम्वाददाता
७ मंसिर २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको विवादास्पद जापान भ्रमणबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलोपटक विस्तृत कुरा खुलाएका छन् । यद्यपि यो घटनाको सुरुआतबाटै मिडियापिच्छे फरक अभिव्यक्ति दिंदै आएका उनले सोही क्रमलाई निरन्तरता दिएका छन् ।

विराटनगरमा हुँदा यो घटनाबारे मिडियासँग केही नबोल्ने भन्दै तर्किदै आएका मुख्यमन्त्रीले काठमाडौं पुगेर एउटा पडकाष्ट शो मा भने विस्तृत कुराकानी गरेका छन् । 

सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताको चर्चित पडकाष्ट शो ‘अन एयर’ मा अन्तरवार्ता दिंदै मुख्यमन्त्री कार्कीले उक्त विषयबारे आफ्ना कुरा भनेका हुन् । 

उक्त कुराकानीमा मुख्यमन्त्री कार्कीले आफूले मन्त्री अधिकारीलाई जापान नजान भनेको मात्रै दाबी गरेका छैनन्, गलत तत्वले प्रयोग गर्न सक्छन् भनेर पहिल्यै सजग गराएको दाबीसमेत अघि सारेका छन् । तर, त्यसबेलानै यो घटना बाहिरनासाथ उद्घोषले मुख्यमन्त्रीलाई मन्त्रीको जापान भ्रमणबारे सोधेको थियो, ‘मुख्यमन्त्रीज्यू, मन्त्री अधिकारीको जापान भ्रमणबारे तपाईंलाई केही जानकारी थियो ?’ भनेर सोधेको थियो ।

उद्घोषसँग अहिले पनि मुख्यमन्त्रीसँगको उक्त कुराकानीको भ्वाइस रेकर्ड सुरक्षित छ । जहाँ उनले भनेका छन् ‘मलाई जानकारी भएको भए त यो सबै कुरा हुँदै हुँदैन थियो नि ! जानकारी नभएकै कारण त यो अवस्था (विवाद) आएको हो ।’ 

मुख्यमन्त्रीले अरु धेरै मिडियासँग पनि यही कुरा दोहो¥याएका थिए । केही समयअघि आफूलाई केही थाहा नदिई मन्त्री जापान गएको बताउने उनले अहिले भने फेरि आफूले नजानु भन्दाभन्दै उनी विधि प्रक्रिया नपुर्याई गएको बताएका हुन् ।

अहिले तेस्रोपटक म्याद थपिएर एमाले कोशीका सांसद अधिकारी प्रहरी हिरासतमा अनुसन्धानरत छन् । विवादास्पद जापान भ्रमण र मानव तस्करीमा नाम मुछिएपछि मन्त्री पद गुमाएका र पार्टीबाट निलम्बनमा परेका अधिकारीले सुनाएको घटना विवरण अनुसार उनी निर्दोष नै देखिने अनुमान पनि मुख्यमन्त्रीको छ । 

गुप्ताको युट्युब च्यानलबाट बिहीबार अपरान्ह प्रशारित अन्तरवार्तामा सञ्चारकर्मी गुप्ताले अधिकारीको जापान भ्रमण र मानव तस्करीबारे कुरा खोतल्छन् । 

उनले सोधेका छन् ‘माननीयज्यू  पूर्व मन्त्रीज्यूको केही हप्ता अघिको जे कुरा आयो नि, मानव तस्करीको कुरा आयो, हजुरको ४ दशकको राजनीतिमा यसरी फर्केर हेर्दा, यसलाई जति जष्टिफाइ गरे पनि पुग्छ होला त ? एज अ चिफ मिनिष्टर कसरी हेर्नुहुन्छ ?’

यो प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले ‘मुख्यमन्त्रीका रुपमा आफूले दुई वटा कमजोरी देखेको भन्दै आफ्नो धारणा राख्छन् । कार्की भन्छन्  ‘मैले त्यो कुरामा दुईटा ठाउँमा कमजोरी देख्छु । माननीय  मन्त्रीज्यूले तिहारको बिदालाई सदुपयोग गर्ने मनस्थिति बनाउनु भएछ । 

कुनै उहाँका नजिकका साथीभाइले जाउँ, जापान घुमेर आउँ,  ५–७ दिन, एउटा  प्रोग्राममा एटेन्ड हुन पुगेर आउँ, यसले केही पनि असर पर्दैन भनेपछि उहाँले सबै  प्रक्रियामा  सामेल हुनुभएछ ।’

मुख्यमन्त्री कार्कीले अगाडि भनेका छन् ‘सामेल भएपछि मलाई अघिल्लो दिन मात्रै भोलि म जापान जानुपर्ने भो, भन्नुभो । टिकट भिसा आइसक्यो, भोलि जापान जानुपर्ने भो भन्नुभयो ।’  

मुख्यमन्त्रीले अधिकारीलाई ‘कहाँ त्यसरी हुन्छ ? विधि प्रक्रिया हुन्छ’ भन्दै सम्झाएको दाबी गरेका छन् । तर, जवाफमा अधिकारीले ‘हैन, सबकुरा भइसक्यो’ भनेको मुख्यमन्त्रीले बताएका छन् । 

त्यसपछि मुख्यमन्त्रीले अधिकारीलाई सोध्छन् ‘अनि भिसा चाहिदैन ?’

अधिकारी भन्छन् ‘आइसक्यो ।’ 

‘टिकट ?’  

‘भइसक्यो ।’  

तत्कालीन मन्त्री अधिकारीले यति भनेपछि आफू अचम्मित बनेको मुख्यमन्त्रीको भनाइ छ । 

‘भोलि जाने भनेपछि म त अचम्मित भएँ । त्यस्तो हुँदैन, विधि प्रक्रिया हुन्छ’ अधिकारीलाई आफूले भनेको कुरा सम्झदै मुख्यमन्त्री भन्छन् ‘तपाईं ल (कानुन) कै स्टुडेन्ट हो, ल प्राक्टिस गरेको मान्छे हो । प्रक्रियामा जाने, निवदेन दिने हो । मन्त्रालयबाट पत्र आउँछ । संघीय सरकारले रिकमेन्ड नगरे हामी जान पाउँदैनौं  भन्दा हैन, भोलि नै जान्छु भन्नुभयो । मेरो सचिवालयका साथीहरूलाई पनि त्यसै भन्नुभएछ ।’

यसरी विधि नपुर्याई अधिकारी जापान जानु मुख्य कमजोरी भएको मुख्यमन्त्री कार्कीको भनाइ छ । 

‘एउटा त्यो मिस्टेक भइहाल्यो । त्यो पोजिसनमा रहेको मान्छेले संवैधानिक प्रक्रिया  पालना गर्नुपर्छ’, उनले अन्तरवार्तामा भनेका छन् । 

सञ्चारकर्मी गुप्ताले मुख्यमन्त्रीलाई सोधेका छन् ‘तपाइले रोक्न सक्नुहुन्थ्यो होला कि ..!’  

जवाफमा मुख्यमन्त्रीले आफू त्यो दिन धनकुटामा भएको  भन्दै थपेका छन् ‘रोक्ने भनेको न जा भनेर रोक्ने त ? म धनकुटा थिएँ । उहाँलाई सम्झाउन भनेर मैले प्रमुख सचिवलाई पनि पठाएको हो । प्रमुख सचिवले भन्नुभयो । उहाँ (अधिकारी) ले कुरा सुनेपछि  ठीकै हो भन्नुभयो । तर, उहाँ हिड्नुभयो ।’ 

उद्घोषसँगको कुराकानीमा प्रमुख सचिव केदारनाथ शर्माले ‘आफूले जापान जाने–नजानेबारे अधिकारीलाई केही नभनेको’ बताएका थिए । 

‘मन्त्रीलाई हामीले जानु या नजानु भन्न सक्छौं ? यस्तो फन्टुस कुरा सोध्ने पत्रकारले’ भनेर उनी झोक्किएका थिए । तर, मुख्यमन्त्रीले भने प्रमुख सचिवलाई आफैले अधिकारीलाई भेट्न पठाएको अभिव्यक्ति दिएका छन् । 

आफूले त्यहीबेला अधिकारीलाई गल्ती गर्नुभयो भनेर भनेको मुख्यमन्त्रीले दाबी गरेका छन् । ‘मैले त्यहीबेला मिस्टेक गर्नुभो तपाईंले  भनेर भनेको हुँ । फेरि अहिलेको राजनीतिक माहोल ठीक छैन पनि भनेको हुँ’, मुख्यमन्त्रीले भनेका छन् ‘कतिपय देशमा गलत मान्छेहरुले युज गर्न सक्छन् पनि भनेको हो मैले ।’

मन्त्री अधिकारी फर्केर त्यही भनेको उनको भनाइ छ । मुख्यमन्त्रीले भने ‘फर्केर आएर त्यही भन्नुभयो ।’ 

त्यसपछि मुख्यमन्त्रीले अधिकारीलाई ‘के गर्नुहुन्छ त ?’ भनेर सोधेको र जवाफमा अधिकारीले ‘के गरांैं ?’ भनेर उल्टै सोधेको मुख्यमन्त्रीले बताए । त्यसपछि आफूले राजीनामा दिनुस् भनेको मुख्यमन्त्रीको दाबी छ । ‘मैले राजीनामा दिनुस् भने’, उनले भने ‘यो छानबिनकै क्रममा छ । सत्यतथ्य आउला ।’ 

तत्कालीन मन्त्री अधिकारीको राजीनामा आउँदा भने मुख्यमन्त्रीले बेग्लै अभिव्यक्ति दिएका थिए । ‘म विवादमा परें, राजीनामा दिन्छु भन्दै उहाँ आउनुभयो । मैले पनि दिनुस् भनें’ मुख्यमन्त्रीले पहिले यसो भने पनि अहिले भने बोली फेरेका छन् । 

अधिकारीसँग जापान छिर्न लागेका व्यक्तिहरुलाई उनले हङकङमा मात्रै भेट गरेको प्रसंग निकाल्दै मुख्यमन्त्रीले थपेका छन् ‘उहाँ जाँदा हङकङमा पुग्दा मात्रै ती व्यक्तिहरुसँग भेट भएको छ । त्यहीबाट फिर्ने मनस्थिति बनाए पनि सम्भव नभएपछि जापान पुगेर फर्केको देखिन्छ । त्यो कुरा हेर्दा उहाँ ‘इनोसेन्ट’ देखिनुहुन्छ । तर, त्रुटी भयो ।’

असम्बन्धित व्यक्तिहरूलाई आफूसँंगै जापान पुर्याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको समेत कसुरमा अधिकारीलाई २०८१ कात्तिक २५ मा विराटनगरस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीमाथि कात्तिक २६ मा दुई दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थप गरिएको थियो । सोमबार ७ दिन पुगे पनि सार्वजनिक विदा परेका कारण काठमाडौं जिल्ला अदालतबाट मंगलबार पुनः ५ दिनको म्याद थप गरेको थियो ।

सरकारको स्वीकृति बिनै शंकास्पद रुपमा जापान पुगेर फर्किएका तत्कालिन मन्त्री अधिकारीले कात्तिक २१ गते बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । 

उनी जापानको टोकियो महानगरपालिकाको निम्तो भन्दै एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन व्यक्तिगत हैसियतले कात्तिक ११ गते बलजफ्ती रुपमा जापान उडेका थिए । 

यो घटनामा प्रहरीले अधिकारीलाई पक्राउ गर्नुअघि हङकङमा भेटिएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐंसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा पक्राउ परेका थिए ।

सोही प्रकरणमा नगद लेनदेन समेत भएको अनुसन्धानमा प्रहरीले फेला पारेपछि सुरु गरेको थप अनुसन्धानका क्रममा नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेलाई पक्राउ गरेको थियो । 

मन्त्रालयको नक्कली परिचयपत्र बनाएको आरोपमा प्रहरीले खोटाङका गुढी राई र नवीन राई पनि पक्राउ गरिसकेको छ ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved