Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अपाङ्गता भएकालाई सहयोग

उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई जीविकोपार्जनका लागि आर्थिक वर्षको अन्तिम दिन बुधबार बिभिन्न वस्तु प्रदान गरेको छ । आत्मनिर्भर हुन पालिकाले गरेको लगानीलाई स्थानीयले स्वागत गरेका छन् ।

पेशा गरेर आत्मनिर्भर हुन चाहने वडा नम्बर १ की अञ्जुकुमारी यादवलाई एक सय ६० लिटरको फ्रिज प्रदान गरिएको छ । 

जहदा–३ निवासी भागिरथा राजवंशीलाई पनि फ्रिज दिइएको छ । पालिकाका प्रशासन प्रमुख शम्भु सापकोटाका अनुसार पेशा गर्न चाहने जहदा–६ का कृषकुमार साहलाई १० वटा कुर्सी र ४ टेबुल दिइएको छ ।

यस्तै जहदा–२ का मतिराम पासवानलाई फेन्सी पसल सञ्चालनका लागि सहयोग गरिएको छ भने सोही वडाका जयकुमार मगरलाई दुई वटा बंगुरका पाठा दिइएको छ । उनीहरूलाई प्रदेश सरकारको अनुदानमा सहयोग गरिएको हो । 

सशर्त अनुदानको रकम महिनाको अन्तिम समयमा आएकाले उनीहरूलाई महिनाको अनितम दिन भए पनि सहयोग गरेर बजेट फ्रिज हुनबाट रोकिएको प्रमुख प्रशासकीय अधिकृत रोशन गुप्ताले बताए ।

एक समारोहका बीच पालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले उनीहरूलाई जीवनयापनका लागि ती वस्तु प्रदान गरे । 

यस्तै आठ जना लघु उद्यमीलाई प्रबिधि हस्तान्तरण अन्र्तगत खुट्टाबाट चलाउने सिलाई मेसिन पनि प्रदान गरिएको छ । 

सुलोचनादेवी मण्डल, प्रिया ऋषिदेव, सुस्मिता हेमरम, बिटियो टुडु, सपना सोरेन, बिनिताकुमारी मण्डल, पार्वतीकुमारी झा र अनुराधा मण्डललाई मेसिन प्रदान गरिएको गुप्ताले जानकारी दिए ।

उनका अनुसार जहदा–५ को लालीगुराँस लघुउद्यमी समूहलाई ५८ प्रतिशत अनुदानमा पावर टे«लर प्रदान गरिएको छ । 

संघीय सरकारको सशर्त अनुदानमा लघु उद्यममा सहयोग गरिएको पालिकाले जनाएको छ । 

गरिबी निवारणमा पालिकाले बिभिन्न क्षेत्र र वर्गको पहिचान गरी सहयोग गर्दै आएको बताउने अध्यक्ष साहले कोही पनि बिपन्न वर्गका मानिस स्थानीय सरकारको सेवाबाट बन्चित नहोस भनेर गतिविधि गर्दै आएको जानकारी दिए ।

View : 354

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved