विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ को कटहरामा चलिरहेको जुवाको खालबाट प्रहरीले शनिबार राती नौ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विशेष सुराकीका आधारमा जुवाको खालमै पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी लगायतका रहेका छन् । जुवा खाल र पक्राउ परेकाको साथबाट प्रहरीले साढे १८ लाख रूपैयाँ बढी नगद समेत बरामद भएको जनाइएको छ ।
पक्राउ पर्नेहरूमा ५९ वर्षीय पूर्व अध्यक्ष माझीसहित ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरौचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के र ३२ वर्षीय प्रताप राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक लाख २२ हजार रुपैयाँ र जुवा खालबाट १७ लाख २९ हजार ५ सय गरी जम्मा १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगदसहित १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस लगायतका सामग्रीहरू समेत बरामद गरेको हो ।
उनीहरूले जुवा मुद्दामा अदालतमा म्याद थप गरी कानुनी कारवाही अघि बढाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
View : 322
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved