विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्किया बजारमा रहेको रुख काटेर दर्जनौं चराका बचेरा मारिएको घटनाबारे वन कार्यालयले अनुसन्धान थालेको छ ।
वडाध्यक्ष महावीरप्रसाद गनगाईले चरा मार्न रुख काट्न लगाएको समाचार सार्वजनिक भएपछि डिभिजन वन कार्यालय विराटनगरले अनुसन्धान थालेको हो ।
वनका कर्मचारी सोमबार झुर्किया पुगेर रुख काटेर चरा मारिएको घटनाको मुचुल्का तयार गरेका छन् ।
विराटनगर वन डिभिजनका प्रमुख बिमल केसीले घाइते केही चराका बचेराको उद्धारसमेत गरिएको जानकारी दिए ।
दैनिक लाग्ने झुर्किया हाटमा चराका बचेरा खसेर फोहर भएको तथा चराको सुलीले दुर्गन्ध फैलिएकाले रुख काट्न लगाएको वडाध्यक्ष गनगाईले बताएका छन् ।
रुखसँगै चराका बचेरा लडेर मरेको उनले बताउँदै यसमा आफूले आदेश दिएकाले कारवाहीको भागेदार आफू नै हुने बताएका थिए ।
वडाध्यक्षले घटना स्वीकार गर्दै कारवाहीको भागेदार हुने बताइरहँदा मेयर नागेश्वर सिंह भनें बचेरा नमरेको दाबी गर्छन् ।
रुखका हाँगा काट्न लगाएको र चरा उडेर गएको उनको भनाई छ ।
हाटमा स्थानीयले आफ्ना उत्पादन बिक्रि गर्न ल्याउने र चराले फोहर गर्ने भएकाले रुखको हाँगा काट्न वडाले लगाएको मेयर सिंहको भनाई छ ।
हुर्कंदै गरेका पानी काग र बकुल्लाका बच्चा रुखसँगै लडेर मरेका छन् भनें केही घाइते अवस्थामा छन् ।
बजारको बीचमा रहेको पिपलको रुखमा बकुल्ला र पानी काग प्रजातिका चराका धेरैवटा गुँडहरु थिए ।
दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउने वन डिभिजन प्रमुख उत्सव थापाले बताएका छन् ।
चराका बचेराको बिभत्स दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दोषीलाई कारवाहीको माग गर्दै कोशी पक्षी समाजले किटानी जाहेरी दिने तयारी गरेको छ । चराको शिकार गर्न कानुनी निषेध छ ।
धेरै पक्षीहरु एकै ठाउँमा मार्नेलाई तीन वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।
View : 627
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved