Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आतंकवादविरुद्ध कारवाही चलाउने जनशक्ति तयार गर्न सशस्त्रको ‘स्पेसियल टास्कफोर्स’ तालिम

उद्‌घोष संवाददाता
२२ जेठ २०८२, बिहिवार

विराटनगर । आतंकवाद लगायतका विषम परिस्थितिमा परिचालित भई विशेष कारवाही संचालन गर्नसक्ने प्रहरी जनशक्ति तयार गर्न सशस्त्र प्रहरी बल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले स्पेसियल टास्कफोर्स तालिम संचालन गरेको छ ।

सशस्त्र प्रहरी बलको मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले एक कार्यक्रमका बीच प्रशिक्षार्थीहरूको कार्यको प्रशंसा गर्दै तालिम समापन गरेका छन् ।

सशस्त्र प्रहरीले आतंकवादी गतिविधी, विभिन्न सशस्त्र संघर्ष एवम् पृथकतावादी गतिविधी नियन्त्रण गर्न आवश्यक पर्ने यस्तो विशेष तालिम प्रदान गरेको जनाइएको छ । यो तालिम पहिलो पटक दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा आयोजना गरिएको हो ।

तालिममा होस्टेज रेस्क्यू अपरेशनदेखि विपद् उद्दारमा समेत परिचालित हुनसक्ने गरी पुलिस ट्याक्टिस, बिस्फोटक पदार्थको प्रयोग, माउन्टेन वारफेयर, भिआइपी सुरक्षा, वाटर रेस्क्यू, मेडिकल फस्र्ट रेस्पोन्सर लगायतका विषयवस्तुमा प्रशिक्षण गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले राष्ट्रिय हित विपरितका आतंकवाद, व्यक्ति अपहरण, आपराधिक तथा हिंसात्मक गतिविधी एवम् विपद्को अवस्थामा आइपरेका सवै प्रकारका चुनौतिको सामना गर्न सक्ने जनशक्ति तयार गर्न तालिम प्रभावकारी हुने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सशस्त्र प्रहरीले सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद् व्यवस्थापन लगायत विशेष परिस्थितिमा परिचालन भई प्रभावकारी योगदान दिंदै आएको बताए । उनले आतंकवाद विरुद्धको कारबाहीमा परिचालन हुन चुस्त दुरुस्त र सक्रिय प्रतिरोधक सुरक्षा शक्ति तयार भएको बताए ।

तालिमको समापनका क्रममा सशस्त्र प्रहरी बल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले भैपरी आउन सक्ने विषम सुरक्षा चुनौतीको सामना गर्न ‘काउन्टर टेरोरिजम’ क्षमतायुक्त प्रहरी जनशक्ति तयार भएको जानकारी दिए ।

View : 416

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved