विराटनगर । लगातारको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले कोशी प्रदेशमा मानवीय क्षती बढाएको छ ।
शनिबार बिहानसम्म धनकुटामा दुई जना, पाँचथरमा तीन जना गरी पाँच जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् ।
पाँचथरमा पहिरोले पुरिएर पाँच जना बेपत्ता बन्दा झापामा बाढीमा परेर थप तीन जना बेपत्ता भएका छन् ।
धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसे देवीथानमा शनिबार विहान खसेको पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा स्थानीय सन्तोष तामाङकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
शनिबार विहान करिब ३ बजेतिर घरमाथिबाट पहिरो खसेको हो ।
पुरानो घरमा बस्दै आएका सन्तोषका परिवार राती घरमाथिबाट पहिरो झर्न थालेपछि नयाँ घरमा रहेको सामान निकाल्न गएका थिए ।
सोही बेलामा खसेको पहिरोले घरसहित आमाछोरीलाई बगाएको हो ।
जेसीवीको सहयोगमा शनिबार विहान उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।
सामान निकाल्न सघाउन गएकी छिमेकी २४ वर्षीया मिना माया तामाङ भने घाइते भएकी छन् ।
गर्भवती अवस्थाकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएको छ ।
पाँचथरको फिदिम नगरपालिका- १ द पहिरोले घर बगाउदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरक्षक रुपेश तामाङका अनुसार ५० बर्षिय गोपी विश्वकर्माको मृत्यु भएको छ। पहिरोमा परि कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनको श्रीमती सरस्वति तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
पाँचथरकै फिदिम नगरपालिका–४ चिसापानीमा रहेको आदिवासी जनजातीको भवन छेउकाे घरमा गएराति पहिरोले पुरिँदा २४ वर्षका सपना शेर्पा र ५ वर्षका डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनीहरू आमाछोरा हुन।
पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति भने हामफालेर बेपत्ता भएका छन्।
शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजीमा समस्या भएको छ ।
नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।
त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ। अपराह्न करिब साढे ४ बजेतिर उनलाई खोलाले बगाएको हो।
खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
View : 124
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved