Biratnagar, Morang, Nepal
२ चैत २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेको समानुपातिक सुचीमा गुरु बरालसहित कोशीबाट तीन जना

उद्‌घोष संवाददाता
१ चैत २०८२, आइतवार

विराटनगर । नेकपा एमालेले विराटनगरका गुरु बरालसहित कोशी प्रदेशका तीन जनालाई समानुपातिक सांसदका रुपमा सिफारिस गरेको छ । 

संसदीय राजनीतिमा विफल तर पार्टीभित्रको आन्तरिक मोर्चामा सफल नेताको छवि बनाएका विराटनगरका पुराना नेता बराल यसपटक पार्टी मोर्चामा पनि विफल भएका थिए । 

एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष र केन्द्रीय सदस्यमा पराजित बरालको पार्टीले चुनावमा लज्जास्पद हार बेहोर्दा पनि समानुपातिकबाट संसद पुग्ने निश्चित भएको छ । 

एमाले यसपटक प्रत्यक्षमा देशभरिबाट नौ जना जित्दा कोशीबाट ४ जनाले जितेका छन् । समानुपातिकबाट कोशीका तीन जना थपिने भएका हुन् ।

एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई शनिबार सिफारिस  गरेको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाएको थियो ।

कोशीबाट खस आर्य पुरुषबाट गुरु बराल, आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला) र दलित महिलातर्फ निता घतानी छन् । 

भुमिका सुब्बा पाँचथरका नेता वसन्त नेम्वाङकी पत्नी हुन् । नेम्वाङ अघिल्लो चुनावमा पाँचथरमा प्रत्यक्ष निर्वाचित सांसद थिए । 

उनी विरामी भएर निष्क्रिय हुँदा पत्नी भुमिकाले समानुपातिकमा अवसर पाएकी छन् । 

दलित महिलाबाट सिफारिसमा परेकी झापा विर्तामोडकी नीता घतानी विद्यार्थी राजनीतिबाट अघि बढेकी युवा हुन् । 

२०७४ मा विर्तामोड नगरको निर्वाचित महिला सदस्य उनी यसपटक एमाले महाधिवेशनबाट युवा केन्द्रीय सदस्य पनि बनेकी थिइन् । 

उनीहरूबाहेक एमालेबाट गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन् । 

खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), पुष्पराज कंडेल (पुरूष) र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् । थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक छन् । 

त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरूष) छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी पनि समानुपातिक सिफारिसमा परेका छन् ।

View : 113

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved