विराटनगर । हिसान खेलकुद महोत्सवको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहीद मैदानमा मंगलबार राति भएको छात्रा फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।
अर्किडको जितमा समीक्षा आचार्यले एक मात्र निर्णायक गोल गरेकी थिइन् । उनी फाइनल खेलको उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट स्ट्राइकर र पूरै खेलको उत्कृष्ट छात्रा खेलाडीसमेत घोषण भइन् । त्यस्तै उत्कृष्ट गोलरक्षकमा अर्किडकी प्रियङ्का थन्दार र उत्कृष्ट मध्यपङ्तीकी खेलाडीमा रेड स्टारकी प्रमिसा श्रेष्ठ घोषित भइन् ।
त्यस्तै छात्र फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले नै पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो । अर्किडको जितमा सन्दिप थापा मगरले एक मात्र निणार्यक गोल गरे ।
माघ १० गतेदेखि शुरु भएको प्रतियोगिमा हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
यसपटकदेखि हिसान मोरङको खेलकुद महोत्सवमा छात्रा फुटबल र कवडी खेल सहभागी गराइएको थियो । हिसानको सो खेलकुद महोत्सवमा फुटबल (छाक्र तथा छात्रा), त्रिकेट (छात्र), बास्केटबल (छात्र), कवडी(छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस एकल र जोडी (छात्र/छात्रा), एथलेक्टिसका खेलहरु भएका थिए ।
विजेता खेलाडीहरुलाइ कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका, प्रदेश सचिव दिपेश बास्तोला र मोरङ अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए ।
View : 187
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved