Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा यो विधिबाट सरकार परिवर्तन हुँदैनः राजेन्द्र राई

‘मुख्यमन्त्री अल्पमतमा परेको कुरा कसले हेर्ने त ? यो त एउटा रेकर्डको रुपमा मात्रै हो, दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश नगर्नु भनेको छ, अन्तिममा अदालतमा प्रवेश गर्नुपर्छ, अदालतले मात्रै यसको फैसला गर्छ’
उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । नयाँ सत्ता गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कोशी प्रदेशमा सरकार परिवर्तनको आधार नै तयार नभएको दाबी गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुरा रेकर्डमा राख्ने काम मात्रै भएको टिप्पणी गरेका हुन् ।

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढाल्न सोमबार एकैपटक चारवटा प्रहार गरिसकेका छन् । त्यसका लागि गरिएको तयारीमा गठबन्धन दलको तर्फबाट सहभागी नभई पन्छिदै आएका राईले कोशीमा सहज रुपमा सरकार परिवर्तन नहुने जिकिर गरेका हुन् ।

उनले वर्तमान मुख्यमन्त्री केदार कार्कीलाई यसअघि विश्वासको मत दिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगरेको र विश्वास कायमै छ पनि नभनेको भन्दै अस्पष्ट कुरा गरेका छन् । उनले वर्तमान मुख्यमन्त्री कार्कीको सरकार संसदबाट बहुमत नभएको सिद्ध भएमा वा अदालतले आदेश दिएको खण्डमा मात्रै ढल्ने दाबी गरे ।

‘मुख्यमन्त्री अल्पमतमा परेको कुरा कसले हेर्ने त ? यो त एउटा रेकर्डको रुपमा मात्रै हो, दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश नगर्नु भनेको छ, अन्तिममा अदालतमा प्रवेश गर्नुपर्छ, अदालतले मात्रै यसको फैसला गर्छ’ उनले भने, ‘तर राजनीतिक रुपमा राष्ट्रपतिले संविधान मिचेर, अदालतले संविधान मिचेर निर्णय गरेको सन्दर्भमा भोलि सभामुखले गर्नुभयो, प्रदेश प्रमुखले संविधान मिचेर निर्णय गर्नुभयो त एउटा कुरा भयो, नभए यो विधिबाट सरकार परिवर्तन हुँदैन ।’

उनले केदार कार्की नेतृत्वको सरकारलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता पनि नगरेको र  समर्थन कायमै छ भनेर पनि नभनेको बताए । 

संविधानको धारा १६८ को उपधारा (५) को सरकारलाई दिएको समर्थन एमाले र माओवादीका ५२ जना सांसदहरुले फिर्ता लिएपनि मुख्यमन्त्री अल्पमतमा परेको कुरा संसद्ले सिद्ध गर्नुपर्ने उनको तर्क छ । 

‘कुनै एउटा प्रतियोगिता हुँदैछ, दुईजना बाटैमा भेट भएर एउटाले जित्यो भन्दैमा त्यसले गोल्डमेडल पाउँदैन’ उनले जोडे, ‘यसको प्रक्रिया चैं अल्पमतमा परेको कुरा संसदबाट सिद्ध हुनुपर्छ, अविश्वासको प्रस्तावबाट सिद्ध हुनुपर्छ । बिहे बटुलोमा हस्ताक्षर गरेजस्तो गरेर त्यो कुरा भ्यालिड हुँदैन, प्रक्रियाबाट छिर्नुपर्छ ।’

उनले आफू भने केदार कार्की नेतृत्वको वर्तमान टिकाउनु पर्छ भन्ने पक्षमा नरहेको बताए । आफूले पहिल्यैदेखि सरकारको विरोध गरेको र अहिले गठबन्धनको हिसाब पनि विपक्षमै रहेको बताए ।

‘तर यो प्रक्रियाबाट चैं तत्काल परिणाम आउँदैन’ उनले भने, ‘सरकार बनाउने हटाउने कुरा ठुलो कुरा भएन, हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं, वहाँहरूले (एमाले–माओवादी) बसेर निर्णय गर्नुभयो, हामीले बसेर पार्टीगत र दलगत निर्णय गरेको छैन, सामान्य रुपमा मात्रै हेरिरहेका छौं ।’

View : 163

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved