विराटनगर । विराटनगर महानगर कमिटीको अध्यक्षबाट बलजफ्ती हटाइएका विराटनगरका एमाले नेता सागर थापालाई पार्टीको प्रदेश कमिटीको एउटा विभागको सचिवको जिम्मेवारी दिइएको छ । उनले शहरी विकास विभागको सचिवको जिम्मेवारी पाएका हुन् ।
एमाले कोशी प्रदेश कमिटीको भर्खरै सार्वजनिक गरिएको गत असोज १० को मितिको अन्तरपार्टी निर्देशन अनुसार १७ सदस्यीय विभागको सचिवमा थापाले जिम्मेवारी पाएका हुन् ।
थापाले प्रदेश कमिटीको विभागको सचिवको जिम्मेवारी प्राप्त भएको जानकारी पार्टीका नेताहरूले समेत गराएको बताए । ‘आज पार्टीको जिम्मेवारी पाएको जानकारी आएको छ’ थापाले भने ।
थापामाथि विराटनगरस्थित मानगढ खानेपानी संस्थाको चुनावमा पार्टीको तोकेको भन्दा फरक उम्मेदवार खडा गएर प्रचार प्रसारमा समेत संलग्न भएको आरोपमा राजनीतिक प्रतिसोधका साथ केही नेताहरूको पूर्वाग्रहका कारण कारवाही गरिएको थियो । उनलाई दुई महिनासम्म महानगर कमिटीको अध्यक्षको पदबाट निलम्बन गरिएको थियो ।
थापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल र वडा नं. ३ का वडा कमिटी अध्यक्ष समेत रहेका मानगढ खानेपानी संस्थाको अध्यक्षको उम्मेदवार बनेका लालमणि भट्टराईलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट निस्कासन गरेको थियो ।
उक्त निर्णयलाई प्रदेश कमिटीको बैठकले अनुमोदन गरेको थियो । पछि तीनैजनालाई समयावधि तोकेर पार्टी सदस्यता पुर्नवहाली गरियो तर बहाल रहेको पदबाट भने मुक्त गरिएको थियो ।
थापालाई २ महिना, नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनाका लागि साधारण सदस्यतासमेत नरहने गरी पदीय जिम्मेवारीबाट निस्कासनमा परेका थिए ।
एमाले जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थाको निर्वाचनमा जिल्ला कमिटीले भनेको उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लागेको भन्दै २०८१ जेठ ३१ मा तिनै जनालाई कारवाही गर्ने निर्णय गरेको पत्र थमाएका थिए । त्यसैलाई आधार मानेर प्रदेश कमिटीले समेत थापासहित तीनैजना माथि भएको कारवाही सदर गरेको थियो ।
थापा पक्षका कार्यकर्ताहरूको चर्को दवाव र असन्तुष्टिपछि उनीहरु पार्टीमा पुनर्बहालीको चरणमा छन् । त्यसैको सुरुवात थापालाई प्रदेश कमिटीको शहरी विकास विभागको सचिव बनाएर गरिएको एमाले कोशी प्रदेश कमिटी तहका एक नेताले बताए ।
उक्त विभागको प्रमुख भने सुनसरीका लोकेश निरौला रहेका छन् । त्यसैगरी उपप्रमुखमा सुनसरीकै सुशीला पहाडी रहेकी छन् । उक्त विभागमा एमाले निकट रहेका केही निर्माण व्यवसायी पनि रहेका छन् ।
View : 225
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved