विराटनगर । विराटनगर–२ तीनपैनीमा निर्माण गरिएको श्याम मन्दिरमा प्रतिष्ठापित भगवानको मूर्तिहरूको बिहीबार धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको छ । श्यामझक्त अनुरागीहरूको कार्यत्रमलाई भव्य बनाउन महिनौदेखि तयारीपछि प्राण प्रतिष्ठा सम्पन्न भएको हो ।
विराटनगरमा निर्माण गरिएको श्रीश्याम मन्दिर भारतको राजस्थानमा रहेको खाटु श्यामको एउटा शाखा हो । झण्डै १८ वर्षअघि निर्माण थालिएको श्याम मन्दिरमा बिहीबार एकै साथ तीन मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । खाटु श्याम, सालासर र शिवको मूर्ति प्रतिष्ठापन र प्राण प्रतिष्ठा गरिएको श्रीश्याम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राकेश बंशलले जानकारी दिएका छन् ।
मन्दिर व्यवस्थापन समितिका सदस्य विजय मिश्रका अनुसार श्रीश्याम भगवान कृष्णकै एक अवतार हो । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थ स्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्रीश्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थ स्थलका रुपमा मान्छन् ।
तिनै मन्दिरको सहायक मन्दिरका रुपमा विराटनगरमा पनि श्रीश्याम मन्दिर निर्माण गरिएको मिश्रले बताए । मन्दिरमा स्थापित गरिएका मूर्तिहरू राजस्थानबाट ल्याइएका हुन् ।
राजस्थानबाट गएको फागुन ३ गते ल्याइएका मूर्तिहरू सुरुमा विराटनगर–१८ स्थित श्रीकृष्ण गौशाला सदनमा राखिएको थियो । त्यहाँ दुई दिन विश्राम गरेर शोभायात्रासँगै ५ गते शनिबार मूर्तिलाई मन्दिरमा प्रतिष्ठापन गरिएको थियो । उक्त मूर्तिको प्राण प्रतिष्ठाको विधि आइतबारदेखि नै बनारसबाट आएका ६ जना पण्डितहरूले सुरु गरेका थिए ।
बिहीबार भने प्राण प्रतिष्ठाको पूर्ण कार्य सम्पन्न भएको मन्दिर समितिका सदस्य मिश्रले बताए । उनका अनुसार प्राण प्रतिष्ठा समारोहमा नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू सहभागी भएका थिए ।
View : 312
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved