धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुाडिखेलमा शनिबार भएको फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोलले हराउँदै झापाले उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा झापाका आशिष चापागाईंले गोल गर्दै टिमको खाता खोले ।
एक गोलको अग्रता पाएपछि झन् आक्रामक बनेको झापाका लागि अभिषेक गुरुङले अर्को गोल थपे । त्यसको केही बेरपछि पुनः झापाका देवेन्द्र गुरुङले तेस्रो तथा निर्णायक गोल गर्दै टिमलाई भीमनारायण गोल्डकपको १६ औं संस्करणको उपाधि दिलाउान सफल भएका हुन् ।
उपाधिसँगै झापाले नगद ५ लाख पाएको छ भने उपविजेता एपीएफले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।
खेल अवधिभर पटक पटक पाएको राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा एपीएफ उपविजेतामा सीमित बन्न पुग्यो । एपीएफले अन्तिम समयतिर पाएको पेनाल्टीलाई पनि सदुपयोग गर्न सकेन, झापाका गोलरक्षक सन्दिप लिम्बुले विफल तुल्याइदिए ।
फाइनल खेलको उत्कृष्ट खेलाडी उपविजेता एपीएफका प्रदीप लामा बने । विजेता टिम झापाका आशिष चापागाईं प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
आयोजक धनकुटालाई ०–३ गोलले हराउँदै झापा फाइनल आइपुगेको थियो । यस्तै, सुनसरीको राष्ट्रिय जागृति क्लवलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउादै एपीएफले फाइनलमा स्थान पक्का गरेको थियो ।
सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपाधिका लागि आठ टिमबीच प्रतिष्पर्धा भएको थियो । शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भई हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।
View : 191
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved