Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

पुसभित्रै विशेष महाधिवेशनको विकल्प छैन, अगाडि बढ्यौं : गगन थापा

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन् ।

‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को अवसर पारेर सार्वजनिक गरिएको सन्देशमा थापाले आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गर्दै नेपाल फर्किएको ऐतिहासिक दिन स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्ने कामना गर्दछु ।’

थापाका अनुसार, परिवर्तनको यात्रामा एक–अर्कालाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अघि बढ्ने प्रेरणा आवश्यक छ ।

महामन्त्री थापाले नेपाली कांग्रेस अहिले राष्ट्रिय भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासको विन्दु खोजिरहेको उल्लेख गर्दै त्यो आत्मविश्वास पार्टीको एकताबाट मात्र सम्भव हुने बताएका छन् ।

उनले स्पष्ट पारे, ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्न सकिने साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुन्छ ।’

थापाका अनुसार, वर्तमान सन्दर्भमा त्यो साझा मञ्च भनेको कांग्रेसको विशेष अधिवेशन हो ।

उनले भने, ‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।’

राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु हरेक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सोही जिम्मेवारी पूरा गर्न विशेष अधिवेशनको बाटो रोजिएको बताएका छन् ।

उनले जोड दिए, ‘हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौं ।’

साथै उनले सम्पूर्ण पार्टी पंक्तिलाई दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे ।

अन्त्यमा थापाले सबैलाई ‘४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को शुभकामना व्यक्त गरेका छन् ।

View : 360

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved