Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रिय समृद्धिका लागि दलहरूबीच सहमति जरुरीः सभामुख घिमिरे

उद्घोष सम्वाददाता
३ फागुन २०८०, बिहिवार

विराटनगर । सभामुख देवराज घिमिरेले राष्ट्रिय समृद्धिका लागि दलहरूबीच सहमति हुनु जरुरी रहेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा सभामुख घिमिरेले देशको अर्थतन्त्रको सुदृढीकरण र राष्ट्रिय समृद्धिका लागि दलहरूबीच साझा सहमति आवश्यक रहेको बताए ।

अहिले मुलुकमा देखिएको वितृष्णाको वातावरणमा खेल्ने काम भइरहेको भन्दै उनले त्यसको सामना दलहरूले नै गर्नुपर्ने धारणा राखे ।

‘मान्छेका चाहनाहरू अनेक देखिएका होलान्, तर देशको अर्थतन्त्र र समृद्धिका लागि राजनीतिक दलहरू मिलेर जानुपर्ने अवस्था देखिएको छ’ सभामुख घिमिरेले भने, ‘अस्थिरताको अवस्था देखाएर खेल्ने र प्रचार गर्नेहरू सामान्य कुरा नै हुन्, वितृष्णाको वातावरणमा खेल्ने काम भइरहेको छ, राजनीतिक दल र  नागरिकहरूले एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’

उनले संसद् भर्खर सुरु भएको भन्दै एक वर्षको अवधिमा संसद्लाई गतिशील बनाएर लाने बताए । सरकारले ६१ वटा विधेयक दिने भनेको जानकारी दिँदै उनले ६१ वटै नआएपनि आएका विधेयकहरूमा छलफल हुने र बिज्नेसको खाँचो नहुने बताए ।

कतिपय विधेयकहरू समितिमा समेत रहेकोले त्यहाँबाट टुंगिएर आएपछि पूर्ण संसद् थप सक्रिय भएर अघि बढ्ने जानकारी दिए ।

आफूले समेत सिफारिस गरेका संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयको शैक्षिक प्रमाणपत्रको विवादबारे प्रतिक्रिया दिँदै सभामुख घिमिरेले योग्यता पुगेको छ कि छैन भन्ने जाँच्ने निकास दिनेहरुले टुंगो गर्नुपर्ने बताए ।  

‘मान्छेका आफ्ना आफ्ना स्थिति हुन्छन्, नागरिकताका कसका कतिवटा छन्, कहिले भेट्छन्, कहिले हराउँछन् त्यो त आफ्ना कुराहरू हुन्छन् नि’ घिमिरेले भने, ‘योग्यता पुगेको छ कि छैन भन्ने जाँच्ने निकायहरूले गर्लान् ।’

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved