Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको बरगाछीमा सञ्चालनमा आयो आधुनिक ट्राफिक लाइट

मन्त्री अधिकारीले जनघनत्व बढि भएका शहरी क्षेत्रमा ट्राफिकको समस्या बढ्दै गएको भन्दै सरकारले आगामी दिनमा पनि ट्राफिक लाइट जडान गर्दै जाने कार्यक्रम रहेको बताए ।
उद्घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबारदेखि पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछीमा अत्याधुनिक प्रविधिको ट्राफिक लाइट जडान र परीक्षणपश्चात् सञ्चालनमा आएको हो ।

कोशी प्रदेश सरकारको २३ लाख रुपैयाँको लागतमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनको औपचारिक उद्‌घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले गरे ।

उनले विराटनगरसहित उदयपुरको गाइघाटमा पनि ट्राफिक लाइट जडान गरिएको जानकारी दिए । मन्त्री अधिकारीले जनघनत्व बढि भएका शहरी क्षेत्रमा ट्राफिकको समस्या बढ्दै गएको भन्दै सरकारले आगामी दिनमा पनि ट्राफिक लाइट जडान गर्दै जाने कार्यक्रम रहेको बताए ।

उनले ट्राफिक लाइटको प्रयोगबाट सडक अनुशासन पालनामा सहयोग पुग्ने जानकारी दिए । त्यसका साथै सिटी सफारीदेखि सार्वजनिक बससम्मको सञ्चालन र व्यवस्थापनमा पनि मद्दत पुग्ने उनले बताए । 

विराटनगरको बरगाछीसहित उदयपुरको गाइघाटमा पनि ट्राफिक लाइट जडान गरिएको मन्त्रालयका निमित्त सचिव कमल बहादुर थापाले जानकारी दिए । 

ट्राफिक नियमबारे सचेतना गराउनका लागि प्रशिक्षण र जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने उनले बताए । नागरिकहरुलाई अभ्यस्त बनाउनका लागि सचेतना गराइने सचिव थापाले बताए । 

स्विच अन डिजिटल प्रालि बिर्तामोड र यार्सा टेक्नोलोजी प्रालि काठमाडौंले विराटनगर र गाइघाटमा ट्राफिक लाइट जडान गरेको हो । स्विच अन डिजिटल प्रालिका प्रबन्ध निर्देशक हितेष दाहालले नेपालकै सबैभन्दा आधुनिक प्रविधिको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको बताए । 

उनले यो ट्राफिक लाइटमा प्राइमरी लाइटका साथै सेकेन्डरी लाइट पनि रहेको बताए । त्यसका साथै पेडस्ट्रेन पनि भएका कारण पैदल यात्रुलाई जेब्राक्रसबाट बाटो काट्नका लागि अति नै सहज हुने बताए । 

विराटनगरको बरगाछी चोकमा यसअघि दर्जनौं पटक सवारी दुर्घटना भइसकेका छन् । दुर्घटनाबाट कयौँको ज्यान गएको छ ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

View : 251

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved