विराटनगर । भारतको बथनाहामा मृत फेला परेका नेपाली व्यवासायी रविनकुमार रायको मृत्यु प्रकरणमा विराटनगरका खगेन्द्र भनिने खेम थापासहितको एउटा समूह प्रारम्भिक रुपमा जोडिएको घटनाक्रमले उजागर गरेको छ ।
थापासहितको समूह शनिबार रायले सञ्चालन गर्ने बथानाहा वीरपुरचोकस्थित अस्पताल पुग्नु र सोही साँझ रविनकुमार मारिनुमा केही तथ्यहरू जोडिएको पाइएको छ । थापा आफैंले केही व्यक्तिहरूलाई बताएअनुसार, उक्त दिन उनी नेपालको अदालतले दोषी करार गरी फरार भनिएका रविनकुमारलाई पक्राउ गर्न नेपाल प्रहरीसहितको टोली लिएर बथनाहा पुगेका थिए । तर, नेपाल प्रहरीले भने आफूहरू सीमा कटेर बथनाहा नपुगेको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहाल रविनकुमारलाई पक्राउ गर्न पारि अर्थात् भारतीय प्रहरीसँग समन्वय र जानकारी गराउने काम मात्र गरेको बताउँछन् । ‘हाम्रा प्रहरीहरू पारि गएका छैनन् । यस्तो हुलिया र प्रकारको मान्छे यो ठाउँमा लुकेर बसेको छ, पक्रेर बुझाइदेऊ मात्र भनेका छन्,’ डीएसपी दाहालले भने । तर, रविनकुमारकी श्रीमती रानीकुमारी भने घटना भएको दिन शनिबार प्रहरीको बर्दी नलगाएका तर प्रहरीजस्ता देखिने मान्छे पनि खेम थापासँग आएको दाबी गर्छिन् ।
‘ड्रेस लगाएका थिएनन्, तर हेर्दा प्रहरीजस्ता देखिन्थे । त्यहाँको ‘बडेबाबु’ले पनि नेपालका प्रहरीहरू पनि आएका छन् भनेको चाहिँ सुनेको छु,’ रानीकुमारीले भनिन् । भारतमा तीन तारे/दुई तारे जुनियर अधिकृतलाई धेरैले बोलीचालीमा बडा बाबु, छोटा बाबु भन्छन् ।
यता आफ्ना दुई छोरामध्येको कान्छो छोराको युवावयमै मृत्यु भएपछि रविनकुमार बाबु रामशीष रायको आँशु थामिएको छैन । छोराको नागरिकता हेरेपछि भक्कानिने रामशीष आफ्नो छोराको हत्या भएको दाबी गर्छन् । ‘मेरो छोरा कालगतिले मरेको होइन, मारेका हुन्, कसले मारेको हो जहाँको प्रहरीले भए पनि पत्ता लगाएर न्याय दिऊन्,’ रामशीष भन्छन् ।
रविनका बुबा रामशीष आफ्नो छोरा रविनकुमार र खेम थापा अत्यन्त मिल्ने साथी भएको बताउँछन् । ‘खेमले मलाइ अंकल भन्थ्यो, मेरो घरमा धेरैपटक आएर खाना खाएको छ । एक दिन उनीहरूबीच लेनदेन रहेछ भन्ने कुरा थाहा पाएको थिएँ,’ उनले भने, ‘सोध्दा खेमले ‘केही होइन अंकल मेरो र रविनबीचको कारोबार हो, चिन्ता लिनुपर्दैन भन्यो ।’
रामशीषका अनुसार, विराटनगरमा रविनकुमार केही इलम गर्न खोज्दा पार नलागेर पारिपट्टि बथनाहामा हस्पिटल सञ्चालन गर्न पुगेका थिए । श्रीमती रानीकुमारीको माइती भारतमै भएकाले उनले उनकै नाममा बथनाहाको वीरपुर चोकमा ‘विराट दिव्य दृष्टि जेनरल हस्पिटल’ नामको अस्पताल सञ्चालन गरेका थिए ।
रविनकी श्रीमती रानीकुमारीका अनुसार, उक्त अस्पतालमा विराटनगरकै २५/२६ वर्ष उमेरका इमरान शेख साझेदार थिए । त्यस्तै, अस्पताल भएको घरधनी प्रयाग गुप्ताका तर्फबाट उनका छोरा अमित गुप्ता पनि साझेदार थिए ।
नेपालमै गरेको कारोबारबाट थिलथिलो भइसकेका रविनकुमारले बथनाहामा अस्पताल सञ्चालन गर्दा पनि सहज तरिकाले गर्न सकेनन् । साझेदार इमरान शेखसँग मनमुटाव भएपछि उनले शेयरवापतको १८ लाख भारतीय रुपैयाँ फिर्ता गर्नुपर्ने भयो ।
‘१८ लाखमध्ये ८ लाख हामीले इमरानको आमाको बैंक खातामा अनलाइन ट्रान्सफर गरिदियौं । किस्ता किस्तामा थप ४ लाख पनि दियौं,’ रविनकी श्रीमती रानीकुमारी भन्छिन् ।
एक दिन आफू नभएको बेला इमरानलगायत उनका आफन्तसमेत मिली आफ्नो श्रीमानलाई करकापमा पारेर २५ लाखको तमसुक बनाउन लगाएको उनी बताउँछिन् । त्यही २५ लाखमध्ये बाँकी पैसा कहिले दिन्छस् भन्दै आफ्नो श्रीमानलाई शनिबार बन्धक बनाएको रानीकुमारीको भनाइ छ ।
‘त्यो दिन मलाइ हस्पिटलको मुनि तलामा थुने, र माथिल्लो तलामा मेरो ‘हसब्याण्ड’लाई लिएर गए, त्यसको केही समयमा नै ‘सर तल अर्को छतमा बजारिनुभएको छ भनेर मेरा स्टाफले खबर गरे,’ रानीकुमारीले भनिन्, ‘फारविसगञ्जको रिफरल हस्पिटल पुर्याउँदा मेरो हसब्याण्डको ज्यान गइसकेको थियो ।’
उनले आफ्नो श्रीमानलाई माथिल्लो तलामा लैजानेहरूमा विराटनगरका खेम थापा, उनका केही साथी, उनीसँग आएका प्रहरीजस्ता देखिने केही मान्छेहरू र इमरानसहित इमरानका आफन्तहरू भएको बताएकी छन् ।
रविनका बुबा रामशीष छोरा मारिएको स्थान बथनाहामा भएकाले उक्त दिन के के घटना भयो आफूलाईभन्दा धेरै कुरा बुहारीलाई थाहा हुने बताउँछन् । आफूलाई आफ्नो छोरामाथि खेमले मुद्दा हालेको जानकारीसम्म भएको र त्यही मुद्दाका बारे पनि विस्तृत जानकारी नभएको उनी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले भने खेम थापाले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरिदिनुपर्यो भनेर अदालतको पत्रसहित कार्यालयमा बुझाएको उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दाहालले अदालतको फैसलाअनुसार पीडित भनिएका खेम थापा प्रहरीको सहयोग माग्न आएको र रविनलाई पक्राउ गर्न गएको विषय सही भएको बताए ।
अदालतको पत्र र पीडित भनिएका खेमको सूचनालाई पछ्याएर भारतीय प्रहरीलाई समन्वय गरिदिनुबाहेकका अन्य क्रियाकलाप नेपाल प्रहरीका तर्फबाट नभएको डीएसपी दाहालले बताए ।
उक्त दिन के घटना भएको थियो भन्ने विषयमा खेम थापालाई सम्पर्क गर्ने प्रयास गर्दा अन्तिम पटक मंगलबार साँझ ०७ः०८ बजेसम्म उनको मोबाइल स्वीच अफ थियो ।
परिवार तथा छरछिमेकका अनुसार, विराटनगर-१० तीनटोलिया शान्तिचोक घर भएका रविनकुमार राय विराटनगरमै केही काम गरुँ भन्दाभन्दै पार नलागेर सीमापारि भासिएका व्यक्ति हुन् ।
उनका दाजु सुनीलकुमार राय आफ्नो भाइ केही गरुँ भन्ने उत्साही खालको भएको बताउँछन् । ‘भाइ व्यवहारमा फसेको साँचो हो, बाँचेको भए एकदिन सबै तिर्थ्यो, तर बाँच्न दिएनन्,’ उनले घटनाको अनुसन्धान गरेर अपराधी पक्रनुपर्ने माग गरेका छन् । फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका रविनले केही समय विराटनगरकै अस्पताल चोकमा आस्था फार्मेसी सञ्चालन गरेका थिए ।
View : 188
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved