विराटनगर । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन कांग्रेसको आन्तरिक तर विवादित बन्दै गएको नीति र नेतृत्व परिवर्तनको खेलमा मात्रै सीमित नभै यसबाट कांग्रेससँगै प्रत्यक्ष सहकार्य गर्दै आएको एमालेलाई पनि तत्कालै प्रभाव पर्ने देखिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँगै चुनावी तालमेल गरिसकेको एमालेलाई त्यतिञ्जेलसम्म पनि यो सहकार्य टिकाउनु पर्ने सबैभन्दा टड्कारो चुनौति देखिएको हो ।
कांग्रेसको परिवर्तनमुखी विशेष महाधिवेशनलाई एमालेले सामान्य राजनीतिक अभ्यासका रूपमा मात्रै हेर्न सक्ने अवस्था अब लगभग अन्त्यतिर पुगेको चर्चा सुरु भएको छ । विशेष महाधिवेशनले कांग्रेसको भावी नेतृत्वसँगै देशको समग्र राजनीतिक दिशालाई पनि नयाँ बाटोमा लैजाने संकेत गरिरहेको छ ।
महामन्त्री गगन थापाको जबरजस्त उदयको प्रमुख मुद्दा नै कसैसँग नमिली कांग्रेसलाई एक्लै आफ्नो खुट्टामा उभ्याउने विषयमा जोडिएको छ । यसले एमालेसहितका अन्य राजनीतिक दलको परम्परागत प्रणालीमा ठूलो प्रभाव पार्ने विश्लेषण हुन थालेको हो ।
विशेष महाधिवेशनका क्रममा देखिएको शक्ति सन्तुलन, नेतृत्वप्रतिको अपेक्षा र कार्यकर्ताको मनोविज्ञानले गगन थापालाई मूल नेतृत्वको चुनौतिकर्ताका रूपमा अघि सारेको छ ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले कांग्रेसको विशेष महाधिवेशनले कांग्रेसभित्रको राजनीतिमा ब्यप्त जडतालाई चकनाचूर पारेको टिप्पणी गरेका छन् । उनको भनाईले कांग्रेस र एमालेभित्र कायम रहँदै आएको पुरानो नेतृत्व (देउवा–ओली) बीचको सहकार्यसमेत धरमरमा परेको संकेत गर्छ ।
महामन्त्रीद्वयको उदयले कांग्रेसभित्र ऊर्जाशील कार्यकर्ताहरूको निर्माणका लागि ऐतिहासिक कदम बन्ने र नेपाली राजनीतिलाई समेत संल्याउने प्राध्यापक पोखरेलको दाबी छ ।
देउवा नेतृत्वलाई प्रत्यक्ष चुनौति दिने र भावी सभापतिको सम्भावित अनुहारका रूपमा गगन अघि बढिसकेका छन् । कांग्रेसको सभापति हुने विषयले भावी दिनमा स्वभाविक प्रधानमन्त्रीको बाटोतिर गगनलाई डोर्याएको छ ।
एमालेमा ११ औं महाधिवेशनको ब्यालेट विद्रोहबाट उदाएका उपमहासचिव योगेश भट्टराईले समेत कांग्रेसभित्र गगन–विश्वको प्रयत्नलाई ‘धेरै गरेको’ रुपमा टिप्पणी गर्दै ‘सलाम मित्रहरू’ भन्दै प्रसंशा गरेका छन् ।
‘हामीले बोल्यौं, केही गर्यौं । तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू’ योगेशले भनेका छन् । योगेशको यो भनाईले एमालेभित्र पनि अझ नयाँ र ऊर्जाशीलहरूलाई नै पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने कार्यकर्ताको चाहना कायम रहेको देखाउ“छ ।
कांग्रेसभित्र भने जारी विशेष महाधिवेशनले सभापति देउवाको लामो नेतृत्वकाल मात्र होइन, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला जस्ता स्थापित नेताहरूको प्रभावसमेत क्रमशः कमजोर बनाएको छ ।
कांग्रेस नेतृत्ववृत्तमा एक प्रकारको युगान्तकारी परिवर्तन सुरु हुने र पार्टीको शक्ति केन्द्र पुनर्संरचना हुने निश्चित भएको छ । देउवा युगको तुलनामा अब कांग्रेस बढी गतिशील, युवामैत्री र प्रतिस्पर्धी बन्ने अपेक्षा महाधिवेशन हलमा सहभागी प्रतिनिधिहरू बताउँछन् ।
महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनमा सहभागी पार्टी कार्यकर्ताकै भावना अनुसार नयाँ पुस्ताको आत्मविश्वास कायम गरिने बताएका छन् । यस्तो प्रक्रियाको प्रत्यक्ष प्रभावसमेत कालान्तरमा एमालेमै पर्ने निश्चित छ । किनभने एमालेलाई देउवाको कमजोरीको फाइदा उठाइरहेको आरोप यही पुस्ताले लगाउँदै आएको छ ।
विशेष महाधिवेशनमार्फत कांग्रेस–एमाले सहकार्य र अन्य दलहरूबीच पनि आलोपालोमा सत्तारोहण गरिरहने अभ्यासलाई रसातलमा पुर्याउने अपेक्षा गरिएको छ । प्रतिस्पर्धाबाटै नीति र नेतृत्व स्थापित गर्ने प्रणालीको विकास गर्नेछ ।
एमालेतिर पनि भर्खरैको महाधिवेशनबाट अर्को महाधिवेशनसम्म भद्र आन्दोलनलाई स्थापित गर्ने बाटो तय गर्नेछ । समग्रमा, गगन थापाको उदयले कांग्रेसलाई मात्रै नभई एमालेको परम्परागत चाल, रणनीति, गठबन्धन र समग्र लोकतान्त्रिक अभ्यासमा दूरगामी प्रभाव पार्ने आँकलन गरिएको छ ।
View : 184
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved