Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चारवटा घर जल्दा एक करोड १८ लाखभन्दा बढी क्षति

उद्‌घोष संवाददाता
३ मंसिर २०८२, बुधवार

ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख बराबरको क्षति पुगेको छ ।

त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए ।

उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।

रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् ।

बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 241

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved