विराटनगर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्किदै जाँदा शेखर कोइराला समूहका प्रभावशाली नेता गुरुराज घिमिरे पनि परम्परागत गुट राजनीतिबाट अलग्गिएको संकेत दिएका छन् ।
अहिलेसम्म शेखर कोइराला पक्षका नेताका रूपमा चिनिंदै आएका घिमिरेले कांग्रेसभित्र ‘परम्परागत गुट भत्किएको’ बताउँदै नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट अडान सार्वजनिक गरेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा शेखर टिमबाटै महामन्त्रीमा उठेर चुनाव जितेका गगन थापासहितका नेताहरुले कोइरालाको साथ छोडिसकेका छन् ।
पछिल्लो समय शेखरलाई बलियो साथ दिइरहेका घिमिरे कांग्रेसको देशव्यापी पहिचान र प्रभाव भएका युवा नेता हुन् । उनैले पनि ‘कांग्रेसमा नयाँ ध्रुवीकरण भइसकेको’ भनेर शेखरको साथ छाडेको संकेत गरेका हुन् ।
विशेष महाधिवेशन माग गर्ने अभियानका अगुवा नेतामध्येका एक हुन् घिमिरे । आफूले शेखरको साथ छोडेको संकेत गर्दै उनले बिहीबार उद्घोषसँग भने ‘कांग्रेसमा अब परम्पराको समूहगत राजनीति छैन । नयाँ ध्रुवीकरण भइसकेको छ ।’
उनले विशेष महाधिवेशनमा सहभागी बन्न आफूले कोइरालालाई आग्रह गरेको पनि बताएका छन् । घिमिरेले नेतृत्व परिवर्तन, नीतिगत र संरचनागत सुधार चाहने सबै कांग्रेसजन विशेष महाधिवेशनमा सहभागी हुने पनि बताएका छन् ।
अहिले कांग्रेसभित्र चलेको महाधिवेशन विवादमा शेखर कोइराला संस्थापन समूहतिर लागेका छन् । तर, शेखरलाई साथ दिंदै आएका घिमिरे भने विधानकै व्यवस्था देखाउँदै विशेष महाधिवेशनबाटै नेतृत्व फेर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
घिमिरे यसअघि पार्टीको प्रदेश सभापति पदमा कोइराला पक्षबाटै चुनाव लडेका थिए ।
संस्थापन पक्षका उद्धव थापासँग दुई मतले पराजित हुँदा शेखर, सुजाता लगायत कोइराला परिवारकै धेरैले भोट हालेका थिएनन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रहिसकेका घिमिरेले नेतृत्व परिवर्तन विशेष महाधिवेशनको मुख्य सर्त भएको बताएका छन् । उनले भने, ‘नेतृत्व नफेर्ने हो भने विशेष महाधिवेशनको कुनै औचित्य हुँदैन ।’
घिमिरेले पछिल्लो राजनीतिक परिस्थितिलाई असामान्य भन्दै वर्तमान नेतृत्व असफल भएको ठहरसमेत गरेका छन् ।
जेन–जी आन्दोलनपछि मुलुकले भोगेको हिंसा, क्षति र राजनीतिक अस्थिरताको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने उनको तर्क छ ।
‘यो कांग्रेसको मात्र होइन, समग्र मुलुक नेतृत्व गरिरहेका दलका शीर्ष नेताहरूको असफलता हो’ उनले भने ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई चुनावको मुखमा पार्टी विभाजनतिर धकेल्ने प्रयास भनेर असहमति जनाएको छ ।
जवाफमा घिमिरे त्यसलाई ‘जिम्मेवारीबाट भाग्ने बहाना’ मात्र ठान्छन् । उनका अनुसार विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुगेपछि पार्टी ‘टेकओभर’ हुन्छ, फुट हुँदैन ।
शेखर कोइरालासँग संवाद भइरहेको बताउँदै उनले थपे ‘उहाँले मंसिर मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनलाई समर्थन गर्ने भन्नुभएको थियो । त्यसैले अहिले पनि उहाँलाई सहभागी हुन आग्रह गरेका छौं ।’
तर, व्यवहारमा कोइराला पक्ष विशेष महाधिवेशनबाट टाढा देखिंदा घिमिरे भने त्यस अभियानको अग्रपंक्तिमा उभिएका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन जुटिसकेको दाबी गर्दै घिमिरेले विशेष महाधिवेशनमा न्यूनतम दुईतिहाई सहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
View : 459
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved