विराटनगर । लागुऔषधसहित चार जिल्लाबाट एकै दिन आठ जना पक्राउ परेका छन् । झापा, मोरङ, धनकुटा र उदयपुरबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो ।
अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट खैरो हेरोइन ७ ग्राम ५ सय १० मिलिग्राम, २ सय ५४ ग्राम गाँजा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै भद्रपुर नगरपालिका–३ बाट मे. ४ प १६९६ नम्बरको मोटरसाईकल जाँच गर्दा चालक भद्रपुर–२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाइजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधि फेला परेको थियो । आले र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् ।
बिराटनगर–१६ दरैया चोकबाट ७३ मिलिग्राम खैरो हेरोइनसहित कैलालीका २५ बर्षीय धिरज बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा–११ गार्ईघाटमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ बर्षीय दीपक बस्नेत, २९ बर्षीय प्रकाश खड्का र ३२ बर्षीय सुदर्शन गेलाललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट एक किलो १० ग्राम गाँजा फेला परेको छ । यसैगरी धनकुटाको सहिदभूमि गाउँपालिका– ५ धनकुटाका २१ बर्षीय सन्देश राईलाई एक किलो सात सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिका–६ बाट प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरुको लागुऔषधको कारोबार बारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय कोशी प्रदेशका बिभिन्न ठाउंँमा खैरो हेरोइनको कारोबार बढेको पाइएपछि काठमाडौबाट लागुऔषध ब्युरो परिचालित भई अनुसन्धान गर्दै आएको छ ।
ब्युरोले गोली हानेर दुई स्थानबाट खैरो हेरोइनका कारोबारी पक्राउ गरेको छ ।
View : 156
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved