विराटनगर । रंगेली नगरपालिकास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड मंगलबारदेखि सुरु भएको छ । रंगेलीको जनता क्याम्पसको खेलमैदानमा मेयर दिलीप बगडियाले रनिङ शिल्डको उद्घाटन गरेका हुन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रंगेली नगरपालिकाभित्रका १३ सामुदायिक र ७ वटा संस्थागत विद्यालय गरी २० विद्यालयका करीव साढे तीन सय विद्यार्थी खेलाडीहरु प्रतिष्पर्धामा उत्रिने जनाइएको छ ।
प्रतियोगितामा १५ वटा खेलमा विद्यालयका छात्रछात्राहरुबीच प्रतिष्पर्धा हुनेछ । सवैभन्दा धेरै स्वर्ण पदक जित्ने विद्यालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भाग लिन पाउने छन् ।
रंगेली नगरस्तरीय रनिङ शिल्डमा ७४ स्वर्ण, ७४ रजत र ७४ काँस्य गरी जम्मा २ सय २२ पदकका लागि प्रतिष्पर्धा हुने नगरपालिकाका प्राविधिक सहायक निकास निरौलाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर बगडियाले सभ्य तरिकाले प्रतियोगिता सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । उनले विद्यार्थीहरुले खेलमा समेत महत्व दिएर आगामी दिनमा अझस्तरीय र भव्य सहभागिता हुनुपर्ने बताए ।
कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, शिक्षा अधिकृत रविन्द्रकुमार पण्डित, नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
View : 262
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved