विराटनगर । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँगको सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङ (काले) लाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवश्यक सहयोग गर्ने घोषणा गरेका छन् । तामाङले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले बताए ।
तामाङ कोशी प्रदेशकै नागरिक भएको र आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै सरकारको तर्फबाट उनलाई सहयोग गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने बताए ।
सङ्घीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुने बित्तिकै तामाङलाई सहयोग प्रदान गरिने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो’ उनले भने ‘त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौं ।’
पत्रकार विद्या चापागाँईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको थियो ।
३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा ‘हराएको वर्षहरू’ शीर्षकमा राखिएको छ । झापाबाट करिव ११ वर्षको उमेरमा गलैँचा बुन्न भनेर काठमाडौँ पुगेका प्रकाश बेपत्ता भएर गोर्खाको उच्च हिमाली क्षेत्र चुमभ्याली पुर्याइएका थिए । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए ।
प्रकाश र उनको परिवारबीच पुनर्मिलन भएपनि कामको बाध्यताका कारण उनी पुनः चुमभ्याली फर्किएका छन् । उनको अहिलेसम्म नागरिकता बन्न सकेको छैन । उनी अविवाहित नै रहेका छन् ।
View : 138
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved