Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जनताको मत नेतालाई सिंढी, जनादेश भूलेर अर्को चुनावी दौडमा

कोशी प्रदेशमा मात्रै आठ जना निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाल नसकिंदै पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

विराटनगर । जनताको हितमा काम गर्ने अनेकौं वाचा गरेर स्थानीय सरकारमा चुनिएकाहरू, प्रदेशसभामा पुगेकाहरू शक्ति आर्जनको लोभमा बीचैमा पद छाडेर प्रतिनिधिसभा चुनाव लड्नतिर लागेका छन् ।

पाँच वर्षका लागि जनताबाट मत पाएर हात परेको जिम्मेवारी पूरा नगर्दै  उनीहरू फेरि अर्को तहको चुनाव लड्न अग्रसर बनेका हुन् । मुलुकभरी देखिएको यस्तै दृश्य  कोशी प्रदेशमा पनि प्रशस्त देखिएको छ । 

स्थानीय तह र प्रदेश सरकारमा बसेर सेवा गर्ने म्यान्डेट पाएका जनप्रतिनिधिहरू पद छाड्दै संघीय संसद् प्रवेशको दौडमा लागेका छन् ।  

विकास, सेवा र स्थायित्वका लागि जनताले दिएको विश्वासलाई बीचमै छोडेर ‘ठूलो सत्ता’ को खोजीमा लाग्ने यो प्रवृत्तिले लोकतान्त्रिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ । 

धेरैले सामाजिक सन्जालमार्फत यो प्रश्न लगातार उठाइरहेका छन् । तर, जवाफदेही बन्नुपर्ने जनप्रतिनिधिहरू ती प्रश्नको उत्तर दिनु त परैको कुरा, वेवास्ता गरेरै अघि बढेका छन् । 

कोशी प्रदेशमा मात्रै आठ जना निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाल नसकिंदै पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिएका छन् । 

महानगर प्रमुखदेखि गाउँपालिका उपाध्यक्षसम्म, प्रदेशसभा सदस्यदेखि नगर प्रमुखसम्म—सबै तहका जनप्रतिनिधि यस सूचीमा परेका छन् ।

संघीय संरचनाको प्रमुख आधार मानिने प्रदेश र पालिकामा पाएको जिम्मा अधुरै छोडेर केन्द्रतर्फ हानिनु जनताले दिएको पाँच वर्षे आदेशप्रतिको बेवास्ता हो कि राजनीतिक बाध्यता भन्ने बहस पनि सुरू भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ यो प्रवृत्तिका सबैभन्दा चर्चित पात्र बनेका छन् । 

स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित उनी पदावधि पूरा नहुँदै राजीनामा दिएर नयाँ दल गठन गर्दै सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । 

पालिकामा संघीय सरकार हाबी भएकाले अपेक्षित काम गर्न नसकेको उनको तर्क छ । तर, धरानका मतदाताले पाँच वर्षका लागि दिएको जिम्मेवारी बीचैमा छोड्नु राजनीतिक हतारो होइन र भन्ने प्रश्न भने उठिरहेको छ ।

धरानमै स्थानीय राजनीति गर्दै आएका सूर्यबहादुर भट्टराई मनोज पनि यही बाटो हिंडे । धरान–१७ का वडाध्यक्ष पद त्यागेर उनी सुनसरी–१ बाटै नेकपाबाट उम्मेदवार बनेका छन् । 

स्थानीय तहमा जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने प्रतिनिधि संघीय सत्ताको आकांक्षामा पद छोड्दा धरानको स्थानीय नेतृत्व नै कमजोर बनेको छ ।

यस्तै मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले पनि नगरको नेतृत्व छाडेर प्रतिनिधिसभा रोजेका छन् । 

२०७४ मा माओवादीबाट अनि २०७९ मा एमालेबाट गरी दुई पटक नगर प्रमुख भइसकेका र एमाले केन्द्रीय सदस्य उनी  मोरङ–२ बाट एमाले उम्मेदवार बनेका हुन् । 

प्रदेशसभामा बसेर कानून र नीतिनिर्माण गर्ने जिम्मेवारी पाएका नेताहरू पनि संघीय सत्ताको मोहबाट अछुतो रहेनन् । 

राप्रपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशसभा पद त्यागेर प्रतिनिधिसभा चुनाव रोजे । झापा ४ को प्रदेशसभा–२ बाट प्रदेशसभा सदस्य बनेका उनी यसपटक झापा–४ बाट उम्मेदवार बनेका छन् ।

सबैभन्दा विरोधाभाषी निर्णय भने  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले गरेका छन् । महानगर प्रमुख पदबाट राजीनामा दिएर उनले झापा–५ बाट संघीय संसद् प्रवेशको प्रयास थालेका छन् । 

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । देशकै ठूलो महानगरको पाँच वर्षे नेतृत्व छाडेर संसद्तिर  दौडिने उनको कदम शक्तिको लोभको प्रमाण भएको चर्चा भइरहेको छ । 

अन्य दलका नेताहरूलाई लगातार गाली गरेर चर्चा कमाएका उनी प्रधानमन्त्री बन्ने लोभ गरेर रास्वपा प्रवेश गरेका हुन् । उनी झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्दैछन् । 

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले पनि पदबाट राजीनामा दिएका छन् । दुईपटक माओवादीबाट निर्वाचित उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उदयपुर–२ बाट उम्मेदवार बनेका छन् । 

पार्टीले मूल्याङ्कन नगरेको आरोप लगाउँदै उनले ‘जनताको विश्वास नै सबैभन्दा ठूलो टिकट’ भएको दाबी गरेका छन् । 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले दोस्रो कार्यकाल अधुरै छोडेर संघीय चुनावी मैदानमा उत्रिएका छन् । माओवादीबाट निर्वाचित उनी पनि ‘माथिल्लो सत्ता’ को यात्रामा निस्किएका हुन् ।

यस्तै, ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि पद त्यागेर उम्मेदवारी दिएकी छन् । उनको राजीनामापछि स्थानीय तहको उपप्रमुख पद रिक्त भएको छ । 

एमालेले उनलाई टिकट दिएपछि एमाले नेता अम्बिरबाबु गुरूङले तत्कालै नेकपा प्रवेश गरेर टिकट हात पारेका छन् । 

यसरी कोशी प्रदेशमा मात्रै आठ जना निर्वाचित जनप्रतिनिधि जनताले दिएको पाँच वर्षे जिम्मेवारी बीचैमा छाडेर यसपटकको चुनाव लड्दैछन् । उनीहरूको यस्तो कदमले स्थानीय र प्रदेश तह अस्थायी सिंढी मात्रै हुन् ? भन्ने प्रश्न अब मतदातामाझ पुगिसकेको छ ।

View : 236

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved