झण्डै दुई करोड रुपैयाँ नक्कली नोट बरामद प्रकरण
विराटनगर । सुनसरीमा बरामद भएको ठूलो परिमाणको नक्कली नोटका विषयमा प्रहरीले सात जनासँग सोधपुछ गरेको छ । नोट कहाँ छापियो, कहाँबाट कसले कुन ठाउँ लैजान लागेको हो भन्ने अनुसन्धान गरिरहेको प्रहरीले निश्कर्ष भने निकालेको छैन ।
गत माघ २८ गते सुनसरी इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट ट्राफिक प्रहरीले एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित मानिस र गाडी नियन्त्रणमा लिएको थियो । दुरुस्तै नेपाली सक्कली नोट जस्तो देखिने नक्कली नोट कहाँ लैजान लागिएको हो, र नेपालमा कस्ले मगाएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीका अनुसार नक्कली नोटबारे त्यसमा जोडिएको हुनसक्ने आशंकामा सात जनासँग सोधपुछ भइसकेको छ । यतिका नक्कली नोट कसरी प्रचलनमा ल्याइन्छ भन्ने प्रहरीले अनुसन्धानका क्रममा केही सुचना प्राप्त गरेको छ । ‘गाउँका मेलाहरूमा थोरै थोरै गरेर नोट चलाइने बुझिएको छ’ उपरीक्षक रेग्मीले भने ।
अनुसन्धान नसकिएकाले यसलाई प्रभाव पर्न सक्ने तथ्यहरू सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ । भारतबाट नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याइएको नोटसहित भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले पक्राउ गरेको थियो । ट्राफिक प्रहरी हवल्दार विशाल प्रधान र जवान लालबाबु रायले जेकजाँचका क्रममा बिहानै नोटसहित गाडी र मानिसलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
हवल्दार प्रधान नोट समाएर सफलता हासिल गरेकोमा कोशी प्रदेश प्रहरी कार्यालयबाट पुलिस अफ द मन्थबाट सम्मानित भइसकेका छन् ।
नियन्त्रणमा लिइएको स्कोरपिओ जीप २६ गते नै सेतुबन्ध भन्सार कार्यालय सुनसरीबाट नेपाल प्रवेशको तीन दिने सुविधा लिएर नेपाल प्रवेश गरेको पाइएको थियो । नेपाल प्रवेशको सुविधा सुनसरीबाट लिए पनि जिपमा नोट भरेपछि कुन नाकाबाट नेपाल प्रवेश गरेको हो भन्ने प्रहरीले खोजविन गरिरहेको छ ।
सुविधा लिएको तेस्रो दिन पक्राउ परेको जीपमा यतिका नक्कली नोट फेला पर्नुले तीन दिनसम्म नेपालमै नोट लिएर गाडी घुमेको वा त्यसै दिन पुनः भारत गएर नोट लिएर आएको हो भन्ने अनुसन्धानकै क्रममा छ ।
सुनसरीबाट प्रवेश गरेको आशंका गरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेशका सुरक्षा प्रमुखहरूसँग सीमाको सुरक्षामा भएको कमजोरीबारे सोधपुछ गरिसकेको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार नोट बोकेको जीप त्यस दिन मधेस प्रदेशमै राजमार्गमा सीसीटीभी क्यामेराको रेकर्डमा देखिएको थियो । उनले कोशी पश्चिमबाटै नोट लोड गरेको गाडी पूर्व आएको जानकारी दिए ।
ट्राफिक प्रहरीले जेकजाँच थालेपछि गाडीभित्र रहेको बोराका विषयमा सोधपुछ गर्दा बोरा भित्र ब्याग भेटिएको थियो । ‘ब्यागको चाबी अगाडिको गाडीमा छ’ भन्दै एक जना स्करपिओबाट निस्किएपछि बेपत्ता भएका थिए ।
ब्याग खोलेर हेर्दा नोट देखिएपछि हवल्दार प्रधानले आफैले गाडी चलाएर मानिस, गाडी र नोट जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । ठुलो मात्रामा नक्कली नेपाली रुपैयाँ पक्राउ परेपछि त्यसअघि र पछि पनि नोट आयात हुने र बजारमा छरिएको हुन सक्ने आशंकामा अनुसन्धान र खोजविन भइरहेको प्रहरीले जनाएको छ ।
View : 278
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved