Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशी प्रदेशभर ‘पिक भिजन’ मार्फत दृष्टिदोष न्यूनीकरण

विराटनगर आँखा अस्पतालको महत्वाकांक्षी अभियान

अहिलेसम्म दृष्टिदोष न्यूनीकरण गर्ने महत्वाकांक्षी घरदैलो अभियान अन्तर्गत ८४ हजार ८१६ घरधुरी र समुदायमा सञ्चालित शिविरहरूबाट कूल १ लाख ३६ हजार ९७४ जनाको आँखा परीक्षण गरिसकिएको छ ।
उद्‌घोष संवाददाता
२९ मंसिर २०८२, सोमवार

विराटनगर । विराटनगर रानीस्थित विराटनगर आँखा अस्पतालले कोशी प्रदेशका सबै १३७ पालिकामा दृष्टिदोष न्यूनीकरण गर्ने महत्वाकांक्षी घरदैलो अभियान सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति संघको सहकार्यमा दुई वर्षअघिदेखि सुरु भएको यस अभियानले प्रदेशभरका नागरिकलाई घरधुरीमै निःशुल्क आँखा जाँच सेवा पुगाइरहेको छ ।

अहिलेसम्म सो अभियानअन्तर्गत ८४ हजार ८१६ घरधुरी र समुदायमा सञ्चालित शिविरहरूबाट कूल १ लाख ३६ हजार ९७४ जनाको आँखा परीक्षण गरिसकिएको छ ।

अस्पतालका व्यवस्थापक कुमार पृथूका अनुसार, सो अभियानको मुख्य विशेषता आधुनिक प्रविधिको प्रयोग हो । अस्पतालले ‘पिक भिजन’ नामक सफ्टवेयरमा आधारित मोबाइल एप्स प्रयोग गरिरहेको छ ।

व्यवस्थापक पृथूले बताए, “अस्पतालले करिब १०० वटा मोबाइलमा ‘पिक भिजन’ एप्स अपलोड गरी वितरण गरेको छ । पालिकाका स्वास्थ्य केन्द्रमा आएका बिरामीहरूको विवरणसहित निःशुल्क आँखा जाँच गरी सोही एप्समार्फत अभिलेख राखिन्छ ।”

जाँच गरिएकामा यदि कसैलाई गम्भीर समस्या देखिएमा नजिकैको विराटनगर आँखा अस्पताल अन्तर्गतको २२ वटा आँखा उपचार केन्द्र वा सिधै विराटनगर अस्पतालमा उपचारका लागि सिफारिस गरिन्छ ।

यसको सबैभन्दा प्रभावकारी पक्ष भनेको गम्भीर समस्या भएका बिरामीहरू उपचारका लागि अस्पताल नआउन्जेल उनीहरूको नम्बरमा नेपाली भाषामा स्वचालित रूपमा आँखा उपचारका लागि सन्देश गइरहने व्यवस्था हो । यसले बिरामीलाई अनुवर्ती उपचार लिन र समयमै उपचार लिन उत्प्रेरित गर्छ ।

सो अभियान अन्तर्गत पहिलो चरणमा इलाम जिल्लाका सबै पालिकामा आँखा जाँच गरिसकिएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका र सुनसरीको दुहवीमा पनि घरदैलो कार्यक्रम सकिएको छ । हाल भोजपुरको भोजपुर नगरपालिका, मोरङको रतुवामाई, केराबारी र रङ्गेलीमा घरदैलो कार्यक्रम जारी छ ।

सफ्टवेयर प्रभावकारी बनाउन चारदिने कार्यशाला

यो महत्वाकांक्षी अभियानको मुख्य औजार ‘पिक भिजन’ सफ्टवेयरलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालले आइतबारदेखि विराटनगरमा चारदिने कार्यशाला सुरु गरेको छ ।

गोष्ठीमा सहभागी स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनका लागि विदेशी नागरिक रविन पर्सी, मो बिलाल, जुदित नोग्वे र मो साहिदलगायत अस्पतालका विशेषज्ञहरू कुमार पृथ्वी, डा. ललित अग्रवाल, सुधीर ठाकुर, रञ्जन साह र शैलेन्द्र सिंहले सहजीकरण गरिरहेका छन् ।

प्रशिक्षणमा अर्चना यादव, आशिषकुमार शाही, मो हुमा जाफर, उदयकुमार रजक, संगीता सुवेदी, पुष्पाकुमारी मण्डल, नवीन नौन्याल, सुष्मा विष्ट, मनिष खवास, अमर शाहलगायत सहभागी छन् ।

यो घरदैलो अभियान कोशी प्रदेशमा अन्धोपन र दृष्टिदोष न्यूनीकरण गर्नतर्फ एउटा ठूलो र प्रविधिमैत्री फड्को साबित भएको छ।

 

View : 1681

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved