विराटनगर । बिहीबार राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको छ ।
फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
७१ वर्षीय राम बहादुर साम्रा, उनकी श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू १२ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको हो । जसमाया साम्रा गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ ।
राती पहिरो खसेका कारण उनीहरु घरबाट तत्कालै भाग्न नपाउँदा पुरिएर मृत्यु भएको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रनाउ रावलले बताए ।
गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार राती करिव २ बजेतिर घरमाथिबाट ठुलो पहिरो खसेर उनीहरूलाई पुरेको हो । पहिरोले उनीहरूको घरसँगै रहेको खोरमा रहेका ५० वटा बाख्रा र ३० वटा कुखुरा समेत पुरेर मरेको जनाइएको छ ।
पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । पहिरोले घर पुरिँदा ४० वर्षीय युगेन साम्रा र उनकी २ वर्षीया छोरी घाइते भएका छन् ।
बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको जनाइएको छ ।
View : 247
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved