विराटनगर । कोशी प्रदेशका १३७ स्थानीय तहमा निर्वाचित भएका दलित जनप्रतिनिधिहरूको तेस्रो प्रदेश सम्मेलन सुरू भएको छ । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ) नेपालको आयोजनामा दुईदिने सम्मेलन विराटनगरमा सुरू भएको हो ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको आउँदो बर्षे अधिवेशनमा दलित सशक्तिकरण विधेयक ल्याइने बताए । विधेयकको मस्यौदामाथि अहिले सामाजिक विकास मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिंदै मुख्यमन्त्री कार्कीले संविधान र कानुनको अक्षरमा मात्रै हेरेर विभेद अन्त्य नहुने पनि बताए ।
‘निर्वाचित भएको दलित जनप्रतिनिधिहरूले दलितको मात्रै जनप्रतिनिधि हो भन्ने कुरा सोच्नु हुँदैन, हामी आफैंले विभेदलाई प्रोत्साहन गर्ने काम त्याग्नु पर्दछ’ मुख्यमन्त्री कार्कीले भने, ‘अबको बर्षे अधिवेशनबाट दलित सशक्तिकरण विधेयक आउँछ ।’
मुख्यमन्त्री कार्कीले दलित भन्ने शब्दको प्रयोग नै गर्न छाड्नुपर्ने बताए । सम्मेलनको अवसरमा राजनीतिक तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण कार्य गरेको भन्दै इटहरीका दिनेश रसाइलीलाई सम्मानित गरिएको छ ।
उनलाई दलित अधिकारको संरक्षण, सम्वर्द्धन र समतामुलक समाजको निर्माणका निम्ति योगदान पुर्याएको भन्दै सम्मानित गरिएको रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले बताए ।
५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर कोशी प्रदेश सरकारको समेत सहयोगमा आयोजित सम्मेलनमा पूर्व प्रदेश प्रमुख तिलक परियार, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की, पूर्वमन्त्री जसमाया गजमेर, पूर्व उपसभामुख सरस्वती पोखरेल, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, प्रदेश सभा सदस्य सपना दर्जी, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थिति थियो ।
View : 342
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved