Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

माओवादीका कोशी प्रदेश कोषाध्यक्ष पुरीले दिए राजीनामा

भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी अध्यक्ष दाहालसँग मागे हारगुहार (राजीनामा सहित)
उद्घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत सम्बोधन गरेर पदबाट राजीनामा दिएका छन् । उनले सोमबार विज्ञप्तिमार्फत आफूले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पुरीले आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई सम्मानित विशेष अदालतले गरेको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू लगायतका विरुद्ध अभियोग दर्ता गरेका कारण पार्टीको प्रदेश कोषाध्यक्ष पदमा रहिरहन उपयुक्त नहुने भन्दै नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा पार्टी अध्यक्ष दाहाललाई समेत सम्बोधन गर्दै उनले आफ्नो मुद्दा तत्कालीन नेकपा कालमै छानबिन भएको दाबी गरेका छन् । छानबिन भइसकेका कारण आरोप पत्रमा उल्लेख गरिएका आफूसहित परिवारका कुनै पनि सदस्यहरू दोषी नरहेको उनले जिकिर गरेका हुन् । 

पुरीले अर्को छानबिन समिति गठन गरिदिन पार्टी अध्यक्ष दाहाल समक्ष हारगुहार मागेका छन् । पुरीले आफ्नो राजीनामामा पार्टी र सरकारले सामाजिक न्यायसहित सुशासन र समृद्धिको निम्ति महान् अभियान नै सञ्चालन गरेकोले त्यसका लागि आफू जस्तोसुकै बलिदानी गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

पुरीलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको छ । उक्त मुद्दामा विशेष अदालतले पुरीबाट ४ करोड ३ लाख रुपैयाँ असुल उपर गर्नुपर्ने फैसला गरेको छ । 

पुरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

दमक नगरपालिका–१३ र १४ स्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियारले जग्गा दर्तामा संलग्न रहेका पुरीसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेका नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपाने तथा सुरु जग्गा दर्तावाला जग्गाधनी गगन भनिने रेवतराज पुरीसहित १७२ जना विरुद्ध आरोप पत्र दायर गरेको छ ।

उनीहरूले बालुवाटार (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) स्थित साबिक ‘दमक ६ ग’ को सर्पट नापीको समयमा कित्ता नम्बर ७६०–१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ग र दमक ५ख बिचको मार्जिनका सरकारी जग्गाहरू व्यक्तिको नाममा घुसाएर हालसाबिक प्रक्रियाबाट दर्ता गरेको अख्तियारको दाबी छ ।

तर पुरीले भने २००२ सालदेखि आफ्ना बुवा भगवानी पुरीले जङ्गल फडानी गरी करिब ६० बिगाहा जमिन जोत भोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४–१४–१० गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनीपुर्जा तत्कालीन श्री ५ को सरकारबाट प्राप्त गरेको दाबी गरेका छन् । 

पैतृक कायम भएको उक्त जग्गा सम्पत्तिमाथि कानुनी अड्चन पैदा गरी विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा गलत प्रचारबाजी भएको उनले आरोप गरेका छन् ।

‘यस बारेमा म स्वयंले निवेदन गरी तत्कालीन नेकपा कालमा नै छानबिन गरिसकेको, गएको माघ २९ गतेका दिन पनि पार्टी केन्द्रलाई सम्बोधन गरी यस बारेमा छानबिन गरिपाऊँ भनी मैले माग निवेदन गरेको अवगत नै छ’ उनको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी र सरकारले सामाजिक न्यायसहित सुशासन र समृद्धिको निम्ति सञ्चालन गरेको यस महान् अभियानमा म र मेरो परिवार जस्तोसुकै बलिदानी गर्न तयार छौँ । देश, जनता र पार्टीको हितभन्दा प्रिय मेरो लागि अरू कुरा केही छैन । त्यसैले सत्य तथ्य र निष्पक्ष छानबिनको सहजताको लागि मैले आफ्नो पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु ।’

उनले आफूहरूले गैर कानुनी काम वा त्यस प्रकारको कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । पुरीले जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३/६४ तिर थप हाम्रो परिवारलगायत ती सुकुम्वासीहरू र दमक नगरभित्रको हाल वडा नं ५, ६, ८, ९ र १० मा गरी करिब २५०० घर परिवारले पुनः नापी टोलीबाट धनी पुर्जा प्राप्त गरेको बताएका छन् । यो समस्यालाई पार्टी र सरकारले निष्पक्ष अनुसन्धान गरी सामूहिक ढङ्गले समस्या समाधानका लागि पहल गरिदिन माग गरेका छन् ।

View : 310

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved