Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

इटहरीमा मोटरसाइकल चालक र साइकल यात्रीको मृत्यु

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक मोटरसाइकल चालक र एक साइकल यात्रीले ज्यान गुमाएका छन् ।

साँझ करिब ५ः१० बजे इटहरी–१३ स्थित ट्रान्सपोर्ट नजिकै विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको म.प्र. ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३०–३२ वर्षीय मोटरसाइकल चालकको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले ट्रक र चालक मकवानपुर मनहरी–१ का २४ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी साँझ ५ः५० बजे इटहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गको गोलचोकमा पश्चिमबाट मोडिएर धरानतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोरङको सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको उपचारका क्रममा धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 191

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved