एनपिएलः
विराटनगर । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमार्फत आफ्नो लगातारको हारको श्रृङ्खला अन्त्य गरेको छ ।
अघिल्ला चार खेल लगातार हारेको जनकपुरले आफ्नो पाँचौं खेलमा चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको हो ।
जनकपुरले अब लिग चरणका दुई खेल खेल्न बाँकी छ । तर दुवै खेल जिते पनि शीर्ष चारमा रहन भने निकै कठिन हुनेछ ।
जनकपुरलाई अघि बढ्न रोक्ने मुख्य कारण चितवन राइनोज र लुम्बिनी लायन्स हुनेछन् । किनकि, त्यसका लागि चितवन र लुम्बिनी दुवै टोलीले बाँकी सवै खेलमा पराजित हुनुपर्नेछ ।
चितवनविरुद्वको जितसँगै लिग चरणबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई ठुलो राहत मात्रै मिलेन, हारको श्रृङ्खलाबाट वाक्क बनेका आफ्ना समर्थकलाई पनि उत्साहको सञ्चार गराएको छ ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
जनकपुरका लागि पाकिस्तानी ओपनर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाइदिए । आसिफ शेख १८ बलमा १८ रन जोडेर आउट बनेपछि कप्तान अनिलकुमार साहले ३६ बलमा ६१ रनको अर्को महत्वपूर्ण योगदान गरे । साहले पनि ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
चितवनका सोहेल तन्विर, अमरसिंह रटेउला र कमलसिंह ऐरीले समान १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । चितवनका दुवै ओपनर डेभिड मलान र अर्जुन साउदबीच पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनको साझेदारी बनेको थियो ।
साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे भने मलान ८० रन जोडेर आउट बने ।
चितवनका कप्तान कुशल मल्लले समेत १४ बलमा २ चौका र २ छक्काको मद्दतमा महत्वपूर्ण ३० रनका साथ नटआउट रहे ।
ललित राजवंशी बिनै मैदानमा उत्रिएको जनकपुरका लागि सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १–१ विकेट लिएका थिए ।
माज सदाकत बने अर्धसतक बनाउने २० औं खेलाडी
जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक बनाउने २०औँ खेलाडी बनेका छन् ।
उनले मंगलबार चितवन राइनोजकाविरुद्ध २४ बल खेल्दै तीन छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।
यसअघि आजै जनकपुरविरुद्घ पहिलो इनिङमा चितवनका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले पनि अर्धशतक प्रहार गरेका थिए ।
जारी प्रतियोगितामा हालसम्म अर्धशतकको सङ्ख्या २४ पुगेको छ ।
जारी प्रतियोगितामा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई तथा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, पोखराका सुमित बर्मा, एडम रोसिङटन र जिमी निशम, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका थिए ।
कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।
View : 181
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved