Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

शंकास्पद जापान भ्रमणपछि विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजिनामा

उनले आफू जापान पुगेपनि निम्ता गरिएको कार्यक्रममा सहभागी नभएको बताए । कार्यक्रममै सहभागी नभएको विषयमा भने मन्त्री अधिकारीले हङकङबाट तीनजना मानिसहरू पनि आफूसँगै मिसिएको भन्दै प्रष्टिकरण दिए । यो भनाईले मन्त्री अधिकारीको जापान भ्रमण नै शंकास्पद बनेको हो ।
उद्घोष सम्वाददाता
२१ कार्तिक २०८१, बुधवार

विराटनगर । सरकारको स्वीकृति बिनै शंकास्पद रुपमा जापान पुगेर फर्किएका कोशी प्रदेशका आन्तरिक मामिला कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बुधबार मन्त्री पदबाट राजिनामा दिएका छन् ।

जापान भ्रमण विवादित बनेपछि मन्त्री अधिकारीले नैतिकताका आधारमा राजिनामा दिएको घोषणा गरेका हुन् ।

उनी टोकियो महानगरपालिकाको निम्तो भन्दै गत अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि सुटुक्क जापान उडेका थिए ।

सरकारका कुनैपनि मन्त्रीले विदेश भ्रमणमा जाँदा मन्त्रीपरिषद्‌बाट स्वीकृति लिँदै संघीय सरकारबाट समेत भ्रमणको अनुमति लिनुपर्ने व्यवस्था छ । तर उनी बिदाको समय परेको कारण देखाएर कुनैपनि निकायबाट स्वीकृति नलिई जापान पुगेका थिए ।

मन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्दै अधिकारीले भने, ‘भिसा अलिक दिन अगाडि आएको छ, टिकट त २५ तारिकमा आएको थियो, थाहा पाएको मैले २६ तारिकमा’ मन्त्री अधिकारीले भने, ‘मैले मुख्यमन्त्रीलाई चैं केहिदिनका लागि बिदामा छु है भनेको थिएँ ।’

उनले आफू जापान पुगेपनि निम्ता गरिएको कार्यक्रममा सहभागी नभएको बताए । कार्यक्रममै सहभागी नभएको विषयमा भने मन्त्री अधिकारीले हङकङबाट तीनजना मानिसहरू पनि आफूसँगै मिसिएको भन्दै प्रष्टिकरण दिए । यो भनाईले मन्त्री अधिकारीको जापान भ्रमण नै शंकास्पद बनेको हो ।

‘मैले अनेस्टली भन्नुपर्छ, म एक्लै थिएँ, हङकङमा तीनजना मान्छे भेटिए, मैले उनीहरूलाई एरेस्ट गराएको छु, ती मान्छे हेर्दैखेरी मसँगै गएर उतै पस्न गएजस्तो देखिन्थे’ उनले भने, मैले यो पाप गर्नुहुँदैन, बरु यो अहिले जे भोगिँदैछ, देशप्रति गद्दारी गर्नुहुँदैन भनेर फर्किएँ ।’

मन्त्री अधिकारीले ती तीन जनासँग आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचय पत्रसमेत भेटिएको जानकारी दिए । तर उनीहरूले मन्त्रालयको कागजात कसरी हात पारे वा नक्कली कागजात बनाए भन्ने कुरा भने मन्त्री अधिकारीले खुलाएनन् ।

‘उनीहरु मेरै कार्यक्रममा गएका रहेछन् मिलाएर, ती मैले नचिनेका मान्छे हुन्’ उनले भने, ‘दुईटा मान्छे खोटाङको, अर्को रसुवाको रहेछ ।’

मन्त्री अधिकारीका अनुसार आफूसँगै हङकङबाट मिसिएका तीनैजनालाई अहिले पक्राउ गराएर प्रहरीको अनुसन्धानमा रहेको जानकारी दिए ।

पक्राउ पर्नेमा खोटाङको जनक राई, दावा शेर्पा र तेस्रो व्यक्ति नाम खुलेको देवकोटा थरको भएको मन्त्री अधिकारीले बताए । उनीहरूलाई हनुमानढोका प्रहरीले पक्राउ गरिसकेको र त्यसको जानकारी डिआइजी राजन अधिकारीलाई भएको बताए ।

भ्रमण विवादित हुने भएपछि आफुले नैतिकताका आधारमा राजिनामा दिएको उनले प्रष्टिकरण दिए । ‘मलाई त्यसको बोध भयो, अनि राजिनामा दिएँ’ उनले भने । 

मन्त्री अधिकारीले पत्रकार सम्मेलनमार्फत राजिनामा दिएको घोषणा गर्नुअघि नै मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई भेटेर राजिनामा बुझाएका थिए ।

राजिनामा पत्रमा २०८१ सालको तिहार बिदाको समयमा आफुले गरेको निजी जापान भ्रमणका क्रममा केही प्रक्रियागत विषयमा उठेको उल्लेख गर्दै उक्त विषयमा प्रश्न उठिसकेपछि उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजिनामा गरी नेतृत्वलाई सहयोग पुर्याउनु उचित ठानेकोले राजिनामा दिएको उल्लेख गरेका छन् ।

 

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved