Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका १० जिल्लामा आगलागी, मुख्य कारण डढेलो र लापरपाही

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिनयता कोशी प्रदेशका १०७ स्थानमा वन ढडेलो लागेको पाइएको छ । आगलागीका घटनाका आधारमा मोरङ, ओखलढुंगा र तेह्रथुममा बढि आगलागी भएको हो ।
उद्घोष सम्वाददाता
५ चैत २०८०, सोमवार

आइतबार सुनसरीको बर्जु गाउँपालिका-४ जयनगर मुस्लिम बस्तीमा अनियन्त्रित बनेको आगो । तस्वीर: उद्घोष

विराटनगर । कोशी प्रदेशका १० जिल्लामा आगलागीका घटना ‘रेकर्ड’ भएका छन् । प्रि–मनसुनको समय सुरु भएपनि पानी नपरेका कारण वन डढेलो तिब्र भएको छ । वन डढेलो नियन्त्रणबाहिर हुँदा त्यहिबाट बस्तीमा आगो फैलिएर सयौं घर गोठ समेत जलेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिनयता कोशी प्रदेशका १०७ स्थानमा वन ढडेलो लागेको पाइएको छ । आगलागीका घटनाका आधारमा मोरङ, ओखलढुंगा र तेह्रथुममा बढि आगलागी भएको हो ।

शुक्रबारयता डढेलो र आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार साँझ करीव ६ बजेतिर भएको आगलागीमा परी एकै घरका तीन बालबालिकाको ज्यान गएको छ ।

आइतबार दिउँसो तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेस्थित रातमाटे, बाँझीगरा, मयन्तापा र अम्फुवामा भीषण आगलागी भएको छ । त्यहाँ १६ घर जलेका छन् ।

गाउँमा पानीको अभावका कारण आगो नियन्त्रणमा कठिन भएको वडाध्यक्ष मन बहादुर श्रेष्ठले बताए । बस्ती वरिपरी रहेको जंगलमा लागेको डढेलो घरमा सल्किएको जनाइएको छ । शनिबार पनि तेह्रथुमका विभिन्न ठाउँमा अगलागी भएको स्थानीय प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट १५ घर परिवारका २७ वटा घर र भान्सा जलेका छन् । स्थानीय बिसुनदेव पौदारको घरबाट सल्किएको आगोले गाउँ नै सखाप भएको जनाइएको छ ।

आगलागीबाट मुस्लिम टोलका प्राय सवै घर पूर्ण रुपमा जलेको वडाध्यक्ष विनोद बहादुर गुरुङले जानकारी दिए । विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको उनले बताए ।

खोटाङको हलेसी तुवाचुङ–१० मा दुईवटा गुवाली जलेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का मोहमद अलाउद्दिनको फुसको छानो भएको घर जलेको छ । इनरुवा–३ सखुवागाछीस्थित सरस्वती ज्ञानकुञ्ज मावि इङ्लिस बोर्डिङ स्कुलको तेस्रो तलामा आगलागी हुँदा तीनवटा कोठा जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शनिबार मोरङको रंगेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर बढि जलेका छन् । २५ घर परिवार विस्थापित भएका छन् । शनिबार राती पथरीशनिश्चरे–१ बुद्धचोकस्थित कोशी चिउरा मिलमा आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट मिल मेसिनरीसहित त्यहाँ राखिएको खाद्यान्न पनि जलेर नष्ट भएको छ ।

शुक्रबार उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक वनबाट वस्तीमा आगो त्यहाा ६ वटा घर गोठ जलेका थिए ।

शनिबारयता कोशी प्रदेशको मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, झापा, धनकुटा, खोटाङ, भोजपुर, इलाममा वन डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा उल्लेख छ ।

यसपाली हिउँदमा पानी कम परेकाले पनि देशभर सुक्खा बढेको जनाइएको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय भएपनि मनसुन भने सुरु हुन सकेको छैन ।

आगलागीका घटना बढेसँगै पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारीमा बढि ध्यान जानुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।

प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले आफ्नो बस्तीतिर आगो नआओस् भनेर अर्को बस्तीतिर आगो सल्किने गरी जंगलमा डढेलो लगाइदिने गरेका कारण जोखिम बढेको बताए । वन डढेलो लागिहालेको अवस्थामा जोखिम क्षेत्रमा अनिवार्य रुपमा सुरक्षा रेखा बनाउनु पर्ने उनले जोड दिए । सुख्खा मौसम भएका कारण आफ्नै खरबारीमा पनि आगो लगाउन नहुने सुझाव दिए ।

शर्माका अनुसार मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेका छन् । पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम भए पनि यो वर्षको सुरुवाती समयमै देखिएका घटनाले बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

आगलागीका घटना बढेपछि जंगली जीवजन्तुहरु मर्न सक्ने र त्यसबाट पर्यावरणीय सन्तुलन खलबलिने वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम देखिएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले आगलागीको जोखिमबाट बच्न सचेतनाका काम सुरु भइसकेको बताइन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वय गर्दै सचेतनाको काम अघि बढाउनु पर्नेमा जोड दिइन् ।

जोखिम बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत पूर्वसचेतना अपनाउन आग्रह गरेका छन् ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved