Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

पोषणमा सरकारी सहयोग, दाइजोमा जाने सम्भावना

उद्घोष सम्वाददाता
२ असार २०८१, आइतवार

पोषण सामग्री वितरण गर्दै अध्यक्ष चौधरी, उपाध्यक्ष राजवंशीलगायत । तस्वीरः कमल/उद्घोष

Advertisement

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा गत वर्ष कुपोषित बालबालिकाको संख्या ५ सय बढी पाइएपछि सरकारले पोषणमा सहयोग गर्‍यो । नेपाल सरकारले पोषण प्याकेजमा दिएको पिउने पानी शुद्ध पार्न फिल्टर र फोहर राख्ने डस्टबिन सदुपयोग हुनेमा भने शंका छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले फोहोर जम्मा गर्न दिइएका डस्टबिनमा केही घरमा दाल र चामल राखेको पनि पाइएको बताए ।

उनले भने– ‘शुद्ध पिउने पानीका लागि वितरण भएको पानीको फिल्टर छोरीको बिहेमा दाइजो नदिइयोस् ।’ वितरण गरिएको फिल्टर तत्काल प्रयोगमा ल्याउन उनले पालिकावासीलाई आग्रह गरेका छन् । शुक्रबार कटहरी–२ मा सामग्री वितरण गर्दै उनले नयाँ फिल्टर भएकाले त्यसै नराखेर तत्काल प्रयोगमा ल्याउन आग्रह गरे ।

गाउँपालिकाले कटहरीका २ देखि ६ सम्मका ५ वडामा पोषण विशेष तथा सरसफाइ सम्बन्धी सामग्री वितरण गरेको छ ।

कटहरीका २ सय २० परिवारलाई पोषण हलुवा, घ्यू, तरकारीको बीउ, फिल्टर, डस्टबिन वितरण गरिएको छ । कतिपय ठाउँमा स्थानीयले फोहर संकलन गर्न दिइएको डस्टबिनमा दाल चामल राखेको पाइएकाले पानी छान्ने फिल्टर दाइजोका लागि नराखियोस् भनेको अध्यक्ष चौधरीले स्पष्ट पारे ।

‘कुपोषण कम गर्न सरसफाइ र खानपानमा ब्यवहार परिवर्तन गर्नुपर्छ’ पालिका उपाध्यक्ष सीतादेवी राजवंशीले भनिन्–‘गर्भवती र सुत्केरी भएका महिलाले सरसफाइ र पोषणमा ध्यान दिए बालबालिका पनि स्वस्थ्य रहन्छन् ।’ नेपाल सरकारले कुपोषण हुनबाट जोगाउन सुनौलो हजार दिनको प्रचार गरे पनि त्यो गाउँमा मात्रै हैन शहरमा पनि प्रभावकारी हुन सकेको छैन ।

गर्भवती भएदेखि बच्चा जन्मिएको दुई वर्षसम्म महिलाले पोषणमा बढी ध्यान दिनुपर्ने हुन्छ । गत वर्ष भन्दा चालु वर्षमा कटहरीमा कुपोषण भएका बालबालिकाको संख्या निकै घटेको अध्यक्ष चौधरीको दाबी छ ।

पोषणका लागि प्रति परिवार ७ हजार ५ सय रुपैयाँ मूल्य बराबरका सामग्री कटहरीले वितरण गरेको छ । ती सामग्री आवश्यकता भएका केही परिवारसम्म नपुगेको स्थानीयको भनाइ छ ।

स्वास्थ्यकर्मीले गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक भएका परिवार छनोट गरेकाले ती परिवारसम्म पोषण सामग्री पुर्‍याइएको कटहरी–२ का वडाध्यक्ष सुरेन्द्र राजवंशीले बताए ।

View : 177

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved