Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनपथ माविमा ‘जीपीए’ भन्दा सिकाइ र संस्कारमा जोड

उद्‌घोष संवाददाता
८ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयले आफ्नो ६२औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यतापूर्वक सम्पन्न गरेको छ । बिहीबार आयोजित विशेष समारोहमा शिक्षाको गुणस्तर, सरकारी विद्यालयको चुनौती र विद्यार्थीको सर्वाङ्गीण विकासका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री लालबाबु पण्डितले सरकारी विद्यालयको अवस्था सुधार गर्न राज्यको नीति र नियत दुवै स्पष्ट हुनुपर्ने बताउँदै जोड दिए ।

उनले भने, ‘‘सिंहदरबारको सोच र कार्यशैली नबदलिएसम्म देशको शैक्षिक रूपान्तरण सम्भव छैन । सरकारी कार्यालयमा थन्किएर रहेका पुराना कम्प्युटरहरू मात्र विद्यालयलाई वितरण गर्ने हो भने ९० प्रतिशत विद्यालय प्रविधिमैत्री बन्ने थिए ।’’

उनले विद्यार्थी र शिक्षकलाई बोली र व्यवहारको तालमेल मिलाएर अघि बढ्न पनि आग्रह गरे ।

समारोहमा आदर्श माध्यमिक विद्यालयका प्राचार्य सन्तोष पोखरेलले केवल प्रमाणपत्रमा अङ्क (जीपीए) ल्याउनु मात्र शिक्षा नभएको उल्लेख गर्दै व्यावहारिक सिकाइमा जोड दिए । उनको भनाइ थियो, ‘‘जीपीए भन्दा सिकाइ ठूलो हो र सिकाइ भन्दा जीवनमा बाँच्ने कला अझ ठूलो हो ।’’

अन्य वक्ताहरूले अभिभावकको चासो कम हुँदा सामुदायिक विद्यालयको गुणस्तरमा अपेक्षित सुधार हुन नसकेको बताउँदै वर्षमा कम्तीमा दुईपटक अभिभावक भेला अनिवार्य गर्नुपर्ने सुझाव दिए ।

विद्यालयको शैक्षिक विकासका लागि विभिन्न दाताहरूले अक्षय कोषको घोषणा गरेका छन् ।

दिपेश बास्तोलाले आफ्नो पिता मुक्तिनाथ बास्तोलाको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयााँ र पूर्व शिक्षक मेनका श्रेष्ठले आदिवासी जनजाति विद्यार्थीका लागि २२ हजार २२२ रुपैयााँको अक्षय कोष हस्तान्तरण गरे ।

हाल विद्यालयमा करिब ८ लाख रुपैयााँको अक्षय कोष रहेको प्रधानाध्यापक हरि पराजुलीले बताए ।

सोही अवसरमा शिक्षा समन्वय समिति मोरङका पूर्व इकाइ प्रमुख टंक गौतम, पूर्व विद्यार्थी एवं बुद्धशान्ति गाउँपालिकाका कार्यकारी मनोजकुमार शाह, शिक्षकहरू रेखादेवी अधिकारी र शंकरप्रसाद सुबेदीलाई सम्मान गरियो। साथै, ईश्वरी श्रेष्ठलाई वर्षकै उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरियो ।

विद्यालयका प्रधानाध्यापकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार, हाल ११५० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयले भौतिक पूर्वाधारको अभाव झेलिरहेको छ ।

९ कठ्ठा जमिनमा सीमित विद्यालयमा खेलमैदानको अभाव, छात्रा शौचालयको अपर्याप्तता र आर्थिक संकट मुख्य चुनौतीका रूपमा रहेका छन् ।

यद्यपि, अङ्ग्रेजी माध्यमको सुरुवात, बोल्ने कला, स्काउट र बाल क्लब जस्ता नयाँ पहलले विद्यालयलाई गतिशील बनाउन खोजिएको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयकी सहायक प्रधानाध्यापक मनमाया रिजालले विराटनगरको मुटुमा रहेको जनपथ विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षक तथा कर्मचारीले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा विकास निर्देशनालय, धनकुटाका पूर्व निर्देशक राजेन्द्र बुढाथोकी र टंक गौतमलगायतले विद्यालयको भौतिक ‘अस्थिपञ्जर’ तयार भए पनि यसलाई ‘जीवन्त’ बनाउन समुदाय र वडा कार्यालयको सक्रियता आवश्यक रहेको औंल्याए ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले आफ्नो वडाभित्रका शैक्षिक संस्थाको विकासका लागि वडाको आर्थिक हैसियत अनुसार सहयोग गरिरहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरी उपस्थित अभिभावक र पाहुनाहरूलाई मनोरञ्जन गराए ।

View : 167

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved