विराटनगर । नेपाली कांग्रेस संस्थापन इतर पक्षले मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकेका मोरङका नेता भीम पराजुली संस्थापन पक्षमै उभिने भएका छन् । मंगलबार उनले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन् ।
‘चारतारे झण्डा र रूख जहाँ हुन्छ त्यो मेरो र हाम्रो स्वाभिमानसँग जोडिएको छ,’ कोशी प्रदेशसभा सदस्यसमेत रहेका प्रदेशका पूर्वमन्त्री पराजुलीले भनेका छन् ‘हामी लोकतन्त्रवादीको रगत र पसिना यसैमा समर्पित भएर बगेको छ । देश कमजोर रहेको अवस्थालाई दृष्टिगत गर्दै हामीले लोकतन्त्र, प्रजातन्त्रको जगलाई बलियो बनाउन र जनचाहना अनुरूप अगाडि बढ्नु पर्ने छ । जो आजको आवश्यकता पनि हो । यसर्थ सिङ्गो नेपाली कांग्रेसलाई अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वमा समर्पित बनेर अगाडि बढ्नुको विकल्प छैन ।’
विराटनगर महानगरका पूर्व मेयर, कांग्रेस निवर्तमान केन्द्रीय सदस्य रहेका पराजुली कुनैबेला कोइराला समूहमा थिए । त्यसबेलादेखि नै कृष्णप्रसाद सिटौला निकट रहेका उनी १४ औं महाधिवेशनदेखि भने सिटौलासँगै शेरबहादुर देउवा प्यानलमा पुगेका थिए ।
देउवा पक्षले संस्थापन पक्षले आह्वान गरेको महाधिवेशनमा भाग नलिन भन्दै आफै अलग्गै महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यसक्रममा जिल्लाहरूमा प्रतिनिधि खटाउँदा पराजुलीलाई मोरङमा खटाएको थियो ।
देउवा समूहले मोरङमा प्रतिनिधि खटाएका पराजुलीले आफू मूल कांग्रेसमै रहने घोषणा गर्दै सबैलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन् ।
पराजुलीले थप भनेका छन् ‘म सवै कांग्रेसका अग्रज सम्मानित नेतागणहरूलाई अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्दछु । यस्तै कार्यकर्ता र शुभेच्छुकहरूलाई पार्टी एकतामा जोडिन आग्रह गर्दछु ।’
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले यसअघिको केन्द्रीय समितिका सबैलाई समेट्ने निर्णय गरेको थियो ।
‘यस्तो बेलामा एकताबद्ध कांग्रेस नै मुख्य कुरा हो भन्ने हाम्रो ठहर छ,’ पराजुलीले उद्घोषसँग भने ‘मेरो क्षेत्र मोरङ ४ का बहुसंख्यक साथीहरूसँगको छलफलपछि मैले यो निर्णय लिएको हुँ ।’
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved