विराटनगर । धरान उपमहानगरपालिका मेयर समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारलाई धरान बोलाउँदै धमाधम टिकट वितरण सुरु गरेका छन् ।
उनले झापा जिल्लाको पाँचैवटा निर्वाचन क्षेत्रमा टिकट वितरण गरिसकेर मोरङ केन्द्रीत भएका छन् । साम्पाङले पार्टीले अहिलेसम्म विभिन्न जिल्लाका २२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेका छन् ।
उनले फेसबुकबाटै सम्भावित उम्मेदवारहरूलाई दैनिक रुपमा धरान बोलाउने र टिकट वितरण गरेको फोटो सार्वजनिक गर्दै आएका छन् ।
साम्पाङले उम्मेदवारी आकांक्षीहरूलाई ‘छिटो गरी टिकट लिन आउनु’ भन्दै सार्वजनिक आह्वान गरिरहेका छन् । सोही आह्वानका आधारमा पूर्वका विभिन्न जिल्लाबाट उम्मेदवार बन्न इच्छुकहरू धरान पुग्ने गरेको जनाइएको छ ।
साम्पाङले पार्टी सचिवालय जस्तै बनाएको आफ्नो भेटघाट स्थल धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘ग्रिन टी’ मा आकांक्षीहरूलाई टिकट वितरण गर्दै आएका छन् ।
श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले हालसम्म वितरण भएका टिकटको एकमुष्ट सूची तयार पार्ने काम भने बाँकी रहेको जानकारी दिए ।
हालसम्म मोरङको क्षेत्र नम्बर १ बाट शान्ति गुरुङ पाख्रिन, मोरङ २ बाट रैहर राजाबाबु र मोरङ ३ बाट अमिर मगरलाई टिकट दिइसकेका छन् ।
पाँचै क्षेत्रको टिकट टुंग्याइसकेको झापाको क्षेत्र नम्बर १ मा केबलराम राई, झापा २ मा केशव भण्डारी, झापा ३ मा दीपक तिम्सिना, झापा ४ मा अमृता राई र झापा ५ मा शिभम सोरानी मगरलाई साम्पाङले टिकट दिइसकेका छन् ।
उनले संखुवासभामा उमा राई, सोलुखुम्बुमा वियस राई, भोजपुरमा ध्रुवराज राई र उदयपुर–२ मा बलराज राईलाई पनि उम्मेदवार बनाइसकेका छन् ।
त्यस्तै, पाँचथरमा हस्तराज लिम्बू (बर्बिन सेर्मा), काठमाडौं ७ मा मणिरामबहादुर प्रधान, रामेछापमा ढलबहादुर मगर, पर्सा–१ मा वासिम खान र सर्लाही–१ मा सुमन अधिकारीलाई पनि उम्मेदवार बन्ने टिकट हस्तान्तरण गरिसकेको जनाइएको छ ।
सिरहा–१ मा डा.जिबछ ठाकुर, डडेलधुरामा महेन्द्र पुन, काठमाडौं ४ मा डा.वरुण अमात्य, मकवानपुर २ मा युनेश लामा र महोत्तरी १ मा लीला दियालीले श्रम संस्कृति पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि टिकट पाइसकेका छन् ।
निर्वाचन आयोगबाट हातमा बोकेको माटो चुनाव चिन्ह लिएर हर्कको पार्टी चुनावी मैदानमा उत्रिएको छ ।
श्रम गर्ने परम्परालाई ‘हर्कवाद’ का रुपमा स्थापित गर्दै साम्पाङ आफु भने सुनसरी १ बाट चुनाव लड्ने तयारीमा छन् । उनले त्यसका लागि धरानको मेयरबाट राजिनामा दिने तयारी समेत गरिसकेको जनाइएको छ ।
View : 169
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved