डा शेखर कोइरालाद्वारा प्राविधिक शिक्षामा जोड
विराटनगर । विराटनगरको ऐतिहासिक आदर्श माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको १२ कोठे भवन र शौचालय भवनको शिलान्यास कार्य शुक्रबार सम्पन्न भएको छ ।
सो मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको गत आर्थिक वर्ष २०८१–८२ को स्वीकृत कार्यक्रमअन्तर्गत दुई हजार भन्दा बढी विद्यार्थी भएका विद्यालयहरूको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सो भवन निर्माण हुन लागेको हो ।
निर्माणका लागि विजय श्रीजना भगत ग्रुप जोइन्ट भेन्चर, काठमाडौँ–१० सँग गत कात्तिक १३ गते ठेक्का सम्झौता भएको थियो ।
विद्यालयका संस्थापक पिताजी कृष्णप्रसाद कोइरालाका नाति तथा विद्यालयका पूर्व विद्यार्थी डा शेखर कोइरालाले एक समारोहका बीच भवन शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा बोल्दै डा कोइरालाले आदर्श विद्यालयमा प्रवेश गर्नासाथ आफूलाई छुट्टै आनन्दको अनुभूति हुने गरेको र यसै विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरी चिकित्सक बनेको स्मरण गरे ।
उनले विद्यालयले गरिरहेको कामप्रति सन्तुष्टि व्यक्त गर्दै विद्यार्थीहरूले सैद्धान्तिक सिकाइसँगै सीपमूलक सिकाइमा समेत जोड दिनुपर्ने बताए ।
अब विद्यालयले मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादनमा समेत जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले विद्यालयले गर्ने सबै काममा आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलले आदर्शको गरिमामय इतिहासलाई जोगाइराख्न भवन निर्माण कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक सन्तोष पोख्रेलले आदर्श माध्यमिक विद्यालय अरूभन्दा भिन्न विशिष्ट गुण रहेको बताए । उनले विद्यालयलाई अपाङ्गता भएका विद्यार्थीहरूलाई समेत सिकाइ क्रियाकलापमा संलग्न गराई समावेशी विद्यालयको रूपमा सञ्चालन भइरहेको जानकारी दिए ।
प्रधानाध्यापक पोख्रेलले नियमित पाठ्यक्रमका अतिरिक्त विद्यार्थीहरूलाई विद्यालय छोडेर जाँदा एउटा सीप सिकाएर पठाउने गरी कार्ययोजना सञ्चालन गर्न लागिएको र सो कार्यका लागि नयाँ भवन निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले नयाँ भवन निर्माणको सुरुवातले विद्यालय परिवारमा उर्जा थपिएको बताए ।
View : 339
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved