Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

हिक्मतको टाउको दुःखाई बन्दै केदार

उद्घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

विराटनगर । ११ महिनाअघि आफैले काँध हालेर मुख्यमन्त्री बनाएका कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री हिक्मतकुमार कार्कीका लागि यतिबेला सबैभन्दा ठूलो टाउको दुःखाई बनेका छन् । 

कांग्रेसलाई प्रदेश सरकारमा स्वागत गर्न कुरेर बसेका मुख्यमन्त्री कार्कीविरूद्ध पूर्व मुख्यमन्त्री कार्कीले यतिबेला अनशन सुरू गरेर उनका विरूद्ध जेहाद छेडेका छन् । आफू मुख्यमन्त्री रहेका बेला ल्याएका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारसहितका योजनाहरू हालका मुख्यमन्त्री कार्कीले कटौती गरेको भन्दै केदार कार्की सुरूदेखि नै बोल्दै आएका थिए ।

उनले अनशन बस्ने चेतावनी दिइरहँदा एमाले र कांग्रेसकै नेताहरूले पनि विश्वास गरेका थिएनन् । तर, कार्कीले मंगलबार अनशन सुरू गर्ने घोषणा गर्दै पत्रकार सम्मेलन नै गरेपछि भने मुख्यमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई बोलाएर छलफल गरेका थिए । 

कांग्रेस नेताहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताएका थिए । 

‘हामीले त मुख्यमन्त्रीलाई तपाइँले बनाएको मुख्यमन्त्री हो, आफै मनाउनुस् भनेका थियौं’, मुख्यमन्त्रीसँग छलफलमा सहभागी कांग्रेसका एक नेताले भने ‘उहाँले म केदार कार्कीसँग कुरै गर्दिन, मुख्यमन्त्री बनाउने निर्णय मेरो जीवनको सबैभन्दा ठूलो भूल हो भन्नुभयो ।’ 

मुख्यमन्त्रीको यही अभिव्यक्तिबाटै पनि प्रष्ट हुन्छ, केदार कार्की उनका लागि यतिबेला टाउको दुःखाई बनिरहेका छन् । ‘हाम्रो पार्टीमा दरार ल्याउन त्यसबेला एमालेले जे जसरी भूमिका खेल्यो, आज त्यसको परिणाम मुख्यमन्त्रीले भोगिरहेका छन्’, कांग्रेस नेताहरू भन्छन् ‘केदार कार्की हिक्मत कार्कीका लागि घाँडो भएका छन् ।’ 

हुन पनि कोशीमा सत्ता सहयात्रा थाल्नै लाग्दा केदार कार्कीले संसदबाटै मुख्यमन्त्रीविरूद्ध कडा अभिव्यक्ति दिएका थिए । त्यसलाई बेवास्ता गरेका मुख्यमन्त्री मंगलबार कार्कीले अनशन थाल्ने घोषणा गर्दा त्यसबारे केही प्रतिक्रिया नै दिने तहमा थिएनन् । बरू प्रशासनलाई निर्देशन दिएर निषेधाज्ञा जारी गर्न लगाए । 

पार्टी सरकारमा सामेल हुनै लाग्दा कार्कीले सरकारविरूद्ध किन जेहाद छेडेको भनेर मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस नेताहरूलाई बारम्बार सोधिरहेको स्रोतको भनाइ छ ।

जवाफमा कांग्रेस कोशीका नेताहरू ‘यो केदारजीको व्यक्तिगत कुरा हो’ भन्दै पन्छिरहेका छन् । पार्टीको निर्देशन लगाएर भए पनि केदारलाई नियन्त्रण गर्न मुख्यमन्त्रीले कांग्रेस नेताहरूलाई बारम्बार भनेको तर केदारलाई केही गर्न नसकिने जवाफ आफूहरूले दिएको कांग्रेस नेताहरू बताउँछन् । 

‘केदारजीको अनशनमा महानगरका मेयर नागेश कोइरालादेखि विराटनगर स्थित कांग्रेसका धेरै कार्यकर्ता समर्थनमा देखिएका छन्, यो अनशन शेखर दाइको सहमतिमै हो कि भन्ने शंका छ’, कांग्रेस कोशीका एक नेताले भने ‘मन्त्रीको नाममा सहमति नहुनु, यता कार्कीले अनशन थाल्नुले धेरै शंका जन्माएको छ ।’ 

कांग्रेस नेताहरू यतिबेला आएर एमालेले ११ महिना अघि केदार कार्कीलाई काँध थापेर मुख्यमन्त्री बनाउने कदम गलत पुष्टि भएको बताएका छन् । ‘त्यसबेला कांग्रेसभित्र खेल्ने एमालेको प्रयास कति गलत थियो भन्ने आज देखिएको छ’ कांग्रेसका ती नेताले भने ‘आफ्नै दल र गठबन्धनको निर्णयविरूद्ध उभिएका उनी हिक्मत कार्कीविरूद्ध उभिनु अनौठो होइन ।’ 

कांग्रेस कार्यकर्ताहरूका अनुसार कार्की नेविसंघमा हुँदै विद्रोही कार्यकर्ताका रूपमा चिनिन्थे । विद्यार्थी जीवनमा बनाएको त्यही स्वभावलाई निरन्तरता दिंदै उनले प्रदेशको मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका थिए । 

अहिले पार्टी सरकारमा सामेल हुनै लाग्दा उनी भने सरकार र मुख्यमन्त्रीविरूद्ध उभिएका छन् । बेला बेला विभिन्न किसिमका फण्डा गर्न खप्पिस कार्कीको पछिल्लो अनसन पनि त्यसकै निरन्तरता हो, उनलाई नजिकबाट चिन्ने एक कांग्रेस कार्यकर्ताले भने ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved