Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

थामे बाढीः

खुम्बु क्षेत्रको पहिलो रणनीतिक मितेरी पुल भासियो, माप्य दुधकोशी र खुम्बु पासाङल्हामुबीच सडक सम्पर्क विच्छेद

उद्घोष सम्वाददाता
१ भदौ २०८१, शनिवार

विराटनगर । शुक्रबार आएको थामे खोला हुँदै दुधकोशी नदीमा आएको भिषण बाढीले सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने रणनीतिक पुल (मितेरी पुल) क्षतिग्रस्त बनाएको छ । माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुलमा क्षति गर्दा दुई गाउँपालिकाबिचको सडक सम्पर्क टुटेको छ । 

सोलु सदरमुकाम सल्लेरीदेखि लुक्ला हुँदै सगरमाथा आधार शिविर जोड्ने सडक खण्ड अन्तरगत पाँच वर्षअघि निर्माण गरिएको उक्त ट्रष्ट पुल बाढीले क्षति गरेको हो । 

दुधकोशीको बाढीले माप्य दुधकोशी गाउँपालिकातर्फको पुलको डिल नै भत्काएको छ । सडक समेत कटान गरेर क्षति पुर्‍याएको जनाइएको छ । 

पुलको माप्य दुधकोशी–१ तर्फको भाग सडकभन्दा झण्डै दुई मिटर तल खसेका कारण पुलबाट सवारी साधन आवत जावत बन्द भएको छ । दुधकोशीमा ठुलो बाढी आएको मितेरी पुलको सबै संरचना बगाउने अवस्थामा पुगेको जनाइएको छ ।

तत्कालीन संघीय सांसद हेमकुमार राईको संसदीय विकास कोषबाट १ करोड, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त लगानी गरी कुल ७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको थियो ।

४८ मिटर लामो र ६ मिटर चौडाइको उक्त पुलको उद्‌घाटन २०७७ मंसिर ६ गते कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए । 

उक्त पुल बनेपछि खुम्बु क्षेत्रमा सल्लेरीदेखि मालबाहक गाडी चल्दा हिमाली क्षेत्रमा महँगोमा सामाग्री किन्नुपर्ने बाध्यता हट्दै गएको थियो । साथै सर्वसाधारणले पनि हिउँद बर्षा नै सहज रुपमा यातायातका साधन संचालन गर्न पाएका थिए । तर बाढीले अहिले पुल नै क्षतिग्रस्त बनाएको छ ।

View : 211

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved