मोरङका नाकामा तस्करी धन्दा
विराटनगर । राजनीतिक दलका नेताहरू एकपछि अर्को गर्दै सीमा नाकाबाट खुलेआम तस्करी धन्दा मौलाएको आरोप लगाइरहेका छन् । तर, शान्ति सुरक्षा र अवैध गतिविधि नियन्त्रणको जिम्मा पाएको जिल्ला प्रशासन र प्रहरी भने यसप्रति लगातार मौनता साँधेर बसिरहेको छ ।
त्यसो त राजनीतिक दलका नेताहरूको अभिव्यक्तिप्रति प्रशासन र प्रहरीले प्रत्यक्ष जवाफ दिने अभ्यास छैन । यद्यपि गृहमन्त्री स्वयम् र प्रदेशका पूर्व मुख्यमन्त्रीसमेतले लगातार एकै विषय उठाइरहदा पनि कहीं कतैबाट कुनै प्रतिवाद भने भएको छैन ।
गएको वैशाख ३१ गते बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखकले ‘कोशीका नाकाहरूबाट तस्करी भइरहेको सूचना पाएको’ बताउँदै प्रशासन र प्रहरीलाई ‘टास्क’ समेत दिए ‘३० दिनभित्र देखिने र अनुभूत हुने गरी नियन्त्रण नगरे एक्सन लिनेछु भनेका थिए ।’
गृहमन्त्रालयकै नेतृत्व गरिरहेका उच्च तहका नेताले त्यसबेला सूचना मात्रै दिएका थिए कि आफ्नो कमजोरी पनि उजागर गरेका थिए ? यसको जवाफ गृहमन्त्री लेखकले दिएका छैनन् । आफ्नै तालुकदार मन्त्रालयको राजनीतिक नेतृत्वले त्यसो भन्दा प्रहरीले जवाफ दिने हिम्मत गर्ने कुरै भएन ।
तर, गृहमन्त्री लेखकले त्यसो भनेको केही समय नबित्दै उनकै दल कांग्रेसका नेतासमेत रहेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले पनि उही कुरा दोहोर्याएका छन् ।
जेठ ७ गते बिहीबार कोशी प्रदेशसभाको बैठकमा बोल्ने क्रममा पूर्व मुख्यमन्त्री कार्कीले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमिरयाविरूद्ध केही संगीन आरोप लगाए ।
उनले एसपीको नामै त किटेनन् तर जोगबनी नाकाबाट तस्करी खुलेआम भइरहेको भन्दै एसपीले पैसा उठाइरहेको आरोपसमेत लगाए । उनको अभिव्यक्ति सुन्ने जो कोहीले पनि प्रहार मोरङका एसपीतिरै लक्षित भएको सजिलै बुझ्न सक्छ ।
केही अघि आफैले नाकामा गएर हेरेको भन्दै कार्कीले प्रदेशसभामा भनेका थिए ‘धेरै पर जान्न । गएको पुस २ गते राति दुई बजेतिर जोगबनी नाकामा गएको थिएँ, डीआईजी अफिस भन्दा अझै अगाडि अरूण सिनेमा हलको अघि एउटा चौरी छ । त्यहाँ भत्केको पर्खाल छ । त्यो पर्खालमा पुलिस बसिरहन्छ । राति चाहिँ त्यहाँबाट ठेलाका ठेला रेलभन्दा पनि लामो लस्कर गइरहेको देखें । बाटा–बाटामा प्रहरी लाइट बालेर आफै गाडी पास गराउँदा रहेछन् ।’
कार्कीले जोगबनी–रानी सीमा नाकाबाट तस्करी भइरहेको बताउने सन्दर्भमा यसो भनेका हुन् ।
प्रदेश सरकारको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका कार्की यत्तिमै रोकिएनन् ।
‘भन्सारमा, थानामा, सशस्त्रमा सबैतिर आफ्ना मान्छे पठाएको छ, जनप्रतिनिधिहरूले नै ठेक्का लिएको छ’, उनले अझै अगाडि बढेर भने ‘अहिले मेरो मर्यादाले भ्याएन, तिम्रोबाट एसपी सा’बले अस्तिको पाँच लाख लानुभयो भनेर (व्यापारीलाई) सोधिदिन्थें । एसपी सा’बले घुमुवा पठाएर अस्तिको पाँच लाख खै भनेर सोधेको पाइएको छ ।’
उनले दिउँसो दुईकिलो चिनी र घरेलु प्रयोजनका सामान ल्याउनेलाई कडाइ गरिएको तर राति भने कन्टेनर नै छिराइएको पनि बताए ।
‘गृहमन्त्रीले तस्करी रोक भन्नुुभयो, दिउँसो सामान ल्याउन रोकियो, राति रोकिएन’, उनले भने ‘एसपीले माथि गृहमन्त्रीसम्म पुर्याउनुपर्छ भन्नुहुन्छ रे । यस्तो पनि छाडा हुन्छ ? प्रहरीका तीन जना इन्स्पेक्टर होटलमा झगडा गर्छन् डीआईजी र एसपीलाई कति दिने भनेर । कुनै खोजपड्ताल छैन । यसरी सुशासन कसरी हुन्छ ? सुशासन केलाई भन्ने ?’
पूर्व मुख्यमन्त्रीले प्रदेशसभा बैठकमै एसपीले व्यापारीबाट पा“च लाख रकम उठाएको भन्ने संगीन आरोप लगाउँदा पनि प्रहरी प्रशासनले अहिलेसम्म कुनै प्रतिवाद गरेको छैन ।
गृहमन्त्रीदेखि पूर्व मुख्यमन्त्रीसम्मले खुलेआम तस्करी भइरहेको आरोप लगाइरहनु भएको छ, प्रशासनको यसमा के छ कुरा ? उद्घोषले शनिबार मोरङ प्रशासनका एक उच्च अधिकारीलाई यसबारे सोधेको छ ।
आफूहरू राज्यको कर्मचारी भएका कारण नेताहरूको अभिव्यक्तिको जवाफ दिंदै नहिड्ने बताउने उनले नेताहरूले बिना आधार आरोप लगाइरहेको भन्न चाहिँ छुटाएनन् ।
‘नेपाल र भारतको सीमा खुला छ, खुला नाकाबाट तस्करी पूर्ण नियन्त्रण कति सम्भव छ त्यो सबैलाई थाहा छ’, ती अधिकारीले भने ‘तर, नेताहरूले यसरी बोल्दा केही प्रमाण पेश गर्ने गरी बोल्नसक्नुपर्छ । यसै बोल्नका लागि बोल्देर भएन ।’
खुला नाकामा तस्करी जारी रहेको भनेर जसले, जहिले भने पनि हुने, त्यसको प्रमाण पेश गर्नुपर्छ कि पर्दैन भन्दै उनले थपे ‘ल मोरङका एसपीले पाँच लाख नै मागे रे, उहाँले (केदार कार्कीले) तीन लाख पनि भन्न सक्नुहुन्थ्यो, सात लाख पनि भन्न सक्नुहुन्थ्यो । तर, कोसँग कहिले मागेको हो भन्न सक्नुपर्यो । प्रदेशसभा जस्तो मर्यादित ठाउमा यस्तो हल्का कुरा नगरेको भए राम्रो हुन्थ्यो ।’
ती अधिकारीले गृहमन्त्रीले विराटनगरमा दिएको अभिव्यक्तिप्रति पनि गुनासो गरे ।
‘व्यापारीको कुरा सुनेर उहाँले पनि बोलिदिनु भयो । यथार्थ के हो बुझ्न पर्थ्यो’, उनले भने ‘अहिले पूर्व मुख्यमन्त्रीले पनि हाउसमै बोल्नुभयो । त्यो लेभलको नेताहरूले बोल्दा प्रमाण सुरक्षित राखेरै बोल्नुभएको होला । हामी त्यस्तो प्रमाण सार्वजनिक गर्न चुनौती नै दिन्छौं ।’
राजनीतिक नेतृत्वले लगातार यसरी आरोप लगाउने, अझ एसपीले पैसा उठाइरहेको भन्दै अंक नै तोकिदिइरहेका बेला मोरङ प्रशासन र प्रहरी नेतृत्वले किन खुलेर यसको प्रतिवाद गर्न नसकेको ? एक प्रहरी अधिकृत भन्छन् ‘हामी चेन अफ कमाण्डमार्फत आफ्नै सांगठिनक संरचना अनुसार चल्ने हो, नेताहरूले कहाँ कतिबेला के भन्छन् त्यसको चियो गरेर बस्ने र जवाफ दिदै हिड्ने हाम्रो ड्युटी होइन ।’
View : 300
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved